एनआरएनमा उम्मेदवारी घोषणाको ओइरो

काठमाडौँ, २५ असोज । गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न व्यक्तिहरूले संघको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

एक जना महिला उपाध्यक्ष तथा दुई पुरुष उपाध्यक्ष पदमा उनीहरुले यसरी उम्मेदवारी घोषणा गरेका हुन् ।

अष्ट्रेलियामा बसोवास गर्दै आएकी रञ्जु वाग्लेले महिला उपाध्यक्षमा तथा सोनाम लामा, चिरञ्जीवी थापा, पारशमणि पोखरेल, ज्ञानेन्द्रराज गौतम, कुमार पन्थ तथा कुल आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेका छन् ।

उपाध्यक्षका दावेदार सोनाम लामाले आफूले जितेमा एनआरएनलाई एकताबद्ध गर्ने तथा नेपालका युवालाई रोजगारी दिने आश्वासन दिए । त्यस्तै चिरञ्जीवी थापाले विदेशमा संगालेको अनुभव, ज्ञान र शीप नेपालमा भित्र्याउने बताउनुभयो । अर्का उम्मेदवार पारशमणि पोखरेलले स्टप एनआरएन अभियान शुरु गर्ने बताए ।

त्यस्तै, संघको मध्यपूर्व संयोजकमा उम्मेदवार दिएका उप संयोजक धर्मराज गिरीले परिवर्तनको आभास दिने अठोट व्यक्त गरे । उपाध्यक्षका उम्मेदवार कुमार पन्थ तथा कुल आचार्यले नेपालको विकासका लागि सामूहिक लगानी भित्र्याउने बताए ।

हाल विश्वका विभिन्न ७७ मुलुकमा ६५ लाख नेपाली बसोबास गर्दै आएको बताइन्छ ।

Loading...