के अमेरिका र उत्तर काेरियाबीच युद्ध हाेला ?

काठमाडौं, १० असोज । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबीच चर्को शाब्दिक आक्रमण तथा पारस्परिक अपमानको शृंखला चलिरहँदा कोरियाली प्रायद्वीपमा युद्धको सन्त्रास छाएको छ ।
उत्तर कोरियाले लगातार आणविक तथा क्षेप्यास्त्र परीक्षण गरिरहँदा अमेरिकाले अघिल्लो हप्ता कोरियाली प्रायद्वीपको उत्तर कोरियाली तटनजिक हवाई आक्रमणको पूर्वाभ्यासस्वरूप लडाकु विमानहरू उडाएको थियो । यसका साथसाथै ट्रम्पले उत्तर कोरियालाई ध्वस्त पारिदिने भन्दै ट्विटहरू लेखेका छन् ।

आफ्नो देशनजिक अमेरिकाले विमान उडाएको र ट्रम्पले ट्विटमा आक्रामक कुरा गरेको प्रतिक्रियास्वरूप उत्तर कोरियाले पनि युद्धको हुंकार गरिरहेको छ । उत्तर कोरियाका विदेशमन्त्री री योङ–होले उत्तरविरुद्ध अमेरिकाले युद्ध घोषणा गरेकाले त्यसको प्रतिकारस्वरूप सबै उपाय अपनाइने अनि अमेरिकी विमानहरूलाई गोली हानेर खसाइन समेत सकिने प्रतिक्रिया दिएका छन् ।

युद्ध आउन नदिने स्थिति बनाउनुपर्नेमा ट्रम्प र किम दुवै उत्तेजक टिप्पणी गरिरहेका छन् । संयुक्त राष्ट्रसंघको साधारणसभामा भाषण दिँदै ट्रम्पले ‘रकेट मानव (किम) आत्मघाती अभियानमा अघि बढेको र धेर अघि बढेमा अमेरिकाले उत्तर कोरियालाई ध्वस्त पारिदिने’ भने ।

त्यसपछिका उनका ट्वीटहरूमा पनि उनले किमलाई (अन्तर्महादेशीय क्षेप्यास्त्रहरूप्रति संकेत गर्दै) रकेट मानव भनी लेखिरहे । एउटा ट्वीटमा त उनले किमलाई ‘बौलाहा’ (म्याडम्यान) नै लेखे ।

यसबाट क्रुद्ध भएका किमले एक वक्तव्य जारी गर्दै ट्रम्प ‘मति खुस्केका बूढा हुन् र उनले अपमानको मूल्य चुकाउनुपर्ने तथा उनलाई कारवाही गर्न आफूहरूले आगो बर्साउने’ चेतावनी दिए ।

यसरी एकअर्काप्रति अपमानजनक टिप्पणी गर्ने आणविक शक्तिसम्पन्न देशका नेताहरूको व्यवहारले उत्तरपूर्वी एसियाली देशहरू विशेषगरी दक्षिण कोरिया र जापान चाहिँ बढी त्रस्त देखिन्छन् । कोरियाली प्रायद्वीपमा युद्ध भइहालेछ भने दक्षिण कोरियामा अकल्पनीय मानवीय तथा भौतिक क्षति हुने देखिन्छ । त्यसैले दक्षिणका राष्ट्रपति मून जे–इनले ट्रम्पलाई फोन गरेर युद्ध चर्किने स्थिति नल्याउन अनुरोध गरेका छन् ।

अनि उत्तर कोरियाको छिमेकमा रहेका मुलुकहरू चीन र रुस पनि युद्ध हुन नदिनका लागि सक्दो प्रयास गरिरहेका छन् । रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले अमेरिका र उत्तर कोरियाले केटाकेटी व्यवहार देखाएको र चर्को कुरा गर्नु भन्दा पनि शान्त भएर आपसी सम्पर्क बढाउनुपर्ने बताए । दुई देशले एकअर्कालाई धम्की दिने काम अस्वीकार्य भएको उनले बताए ।

त्यसैगरी चीनले पनि अमेरिका र उत्तर कोरियाबीच सम्बन्ध सामान्य बनाउनुपर्ने टिप्पणी गरिरहेको छ । उत्तर कोरियामा युद्ध भएका त्यसले निम्त्याउने शरणार्थी संकटले आफूलाई नकारात्मक प्रभाव पार्ने आँकलन चीनको छ भने आफ्नो छिमेकमै अमेरिकाले अड्डा जमाउला भन्ने डर रुसको पनि छ । अहिले नै चीन र रुसले दक्षिण कोरियामा अमेरिकाद्वारा स्थापित क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली (थाड) को विरोध गरिरहेका छन् ।

अहिले उत्तर कोरियाप्रति ‘सफ्ट कर्नर’ भएका देश चीन र रुस नै हुन् । उत्तरले उनीहरूलाई समेत नटेरी लगातार आणविक तथा क्षेप्यास्त्र परीक्षण गरिरहेकाले उनीहरू आजित भएर उसविरुद्ध कडा आर्थिक प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघको प्रस्तावमा समर्थन जनाउन पुगेका थिए । यी दुई देशले नै सम्भवतः उत्तर कोरियालाई अनुशासनमा राख्नेछन् ।

तर शान्तिको प्रयासलाई बिगार्ने गरी अमेरिकाको शक्तिशाली हतियार उद्योगले उत्तर कोरियासँगको युद्धका लागि सक्रियता देखाइरहेको बुझिन्छ । मध्यपूर्वको युद्ध लगभग समाप्त भएको स्थितिमा अमेरिकाको गिर्दो अर्थतन्त्रलाई उकास्नका लागि हतियार उद्योगले नयाँ युद्धको कामना गरिरहेको छ किनकि उसले उत्पादन गरेका ठूलो संख्यामा रहेका हतियार जसरी भएपनि बेच्नुछ ।
त्यसो त ट्रम्प आफैं पनि अमेरिकाको सैन्य शक्ति देखाउनका लागि आतूर देखिन्छन् । रुससँग मिलेर निर्वाचन प्रभावित पारेको विषयमा आफूविरुद्ध चलिरहेको अनुसन्धानबाट ध्यान अन्यत्र मोड्नका लागि पनि विगत केही समययता ट्रम्पले युद्धसम्बन्धी निकै चर्को कुरा गरेको बुझ्न सकिन्छ जबकि उनी अमेरिकालाई कुनै पनि विदेशी युद्धमा नअल्झाउने प्रतिबद्धताका साथ चुनाव जितेर राष्ट्रपति भएका हुन् । उनले कुनै दिन ट्वीट लेखेरै अमेरिकी सेनालाई उत्तर कोरियाविरुद्ध युद्धको आदेश दिने हुन् भन्ने आशंका समेत विश्लेषकहरूले गरेका छन् ।

उता किम जोङ–उन पनि आणविक हतियार कार्यक्रम त्याग्ने पक्षमा छैनन् । आफूलाई पश्चिमले अपदस्थ गराउने सबै किसिमका सम्भावनालाई रोक्नका लागि उनी आणविक कार्यक्रम सञ्चालन गरिरहेका छन् । उनले इराकका तानाशाह सद्दाम हुसेन र लिबियाका निरंकुश शासक मुअम्मार गद्दाफीले आणविक हतियार कार्यक्रम त्यागेपछि भोग्नुपरेको दुर्नियतिका बारेमा थाहा पाएरै यसलाई निरन्तरता दिएका हुन् ।

यस्तो विस्फोटक स्थिति भएपनि कूटनीति नै युद्धमाथि हाबी हुनेछ र दुई देशबीच भिडन्तको स्थिति आउनेछैन भनी कामना गर्नुको विकल्प छैन ।

Loading...