इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामा नेपाल च्याम्पियन

नेपालले जित्यो १९ स्वर्ण, १६ रजत र ४२ कास्य

काठमाडौं, १० असोज । इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सोमबार भएको उक्त प्रतियोगिताका नेपालले सर्वाधिक १९ स्वर्ण जितेको हो । नेपालले १६ रजत र ४२ कांस्यपदक पनि हात पार्न सफल भयो ।

राष्ट्रिय तेक्वान्दो संघ नेपालको सहयोगमा अन्तर्राष्ट्रिय मार्सल आर्ट एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगितामा भारतले तीन स्वर्ण, छ रजत र दुई कांस्यपदक प्राप्त ग¥यो । प्रतियोगितामा पुरुषमा राज श्रेष्ठ र महिलामा निशा लामा उत्कृष्ट खेलाडी घोषित भए । दुवै नेपाली हुन् ।

विजेतालाई राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष शिव कोइराला, नेकपा (माओवादी केन्द्र)का पूर्वखेलकुद इञ्चार्ज लीलाबहादुर थापालगायतले पुरस्कार प्रदान गर्नुभयो । दुईदिने प्रतियोगितामा १५० खेलाडीले २२ स्पर्धामा भाग लिएका थिए ।

उसु च्याम्पियनसिपमा दुई खेलाडी

रुसको कजानमा हुने १४ औँ विश्व उसु च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन् । यही असोज १० देखि १८ गतेसम्म हुने च्याम्पियनसिपको महिलातर्फ निमा घर्ती मगर र पुरुषतर्फ दीपक हमालले प्रतिस्पर्धा गर्नेछन् । दुवैले थाउलोको नान् छ्वान अलराउन्ड स्पर्धामा भाग लिनेछन् ।

निमाले ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै स्वर्ण जितेकी थिइन् । भारतमा भएको १२ औँ सागमा उनले स्वर्ण जितेकी हुन् । उनको त्यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । विश्व च्याम्पियनसिप उनको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

त्यस्तै दीपकको भने यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले खेलाडीलाई आर्थिक सहयोग र ट्रयाकसुट प्रदान गरी सफलताको शुभकामना दिँदै बिदाइ गरे । उनले खेलाडीलाई प्रोत्साहनस्वरुप जनही १३ हजार प्रदान गर्नुभयो । कार्यक्रममा खेलाडीद्वय निमा र दीपकले सक्दो उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीमा क्षमता छ भन्ने सन्देश दिइने प्रतिबद्धता व्यक्त गरे । खेलाडी मंगलबार राति फ्लाइ दुबईबाट रुस प्रस्थान गर्नेछन् ।

Loading...