गाईजात्राका उत्कृष्ट सांस्कृतिक समूह पुरस्कृत

भक्तपुर, ९ असोज । भक्तपुर नगरपालिकाले गाईजात्रा पर्व ०७४ मा प्रदर्शन गरिएका परम्परागत एवं सांस्कृतिक विधामा उत्कृष्ट प्रदर्शन गर्ने सांस्कृतिक समूहलाई पुरस्कार प्रदान गरेको छ ।

भक्तपुर नगरपालिकाले आइतबार दरबारस्क्वायरमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले पुरस्कार प्रदान गरेका हुन् ।

उहाँले गत गाईजात्रामा उत्कृष्ट प्रदर्शन गर्ने एक दर्जन सांस्कृतिक नाच एवं नाचका कलाकारका साथै भक्तपुरबारे गीत लेख्ने गीतकार नारायणकुमार आचार्यलाई पुरस्कार एवं सम्मान गरे । उनले कला, संस्कृतिको जगेर्नामा नगरपालिकाले विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिँदै सरकारले पनि यसको दायित्व लिनुपर्ने बताए ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग, इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ लगायतले यहाँको कला, संस्कृति र सम्पदालाई यथावत् राख्नसके स्वदेशी तथा विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल बन्ने विचार व्यक्त गरे ।

Loading...