३८औँ विश्व पर्यटन दिवस नेपालमा मनाइदै । विश्वभर पर्यटन फस्टाउँदाे

काठमाडौँ, ९ असोज । ‘दिगो पर्यटन : विकासको आधार’ भन्ने मूल नाराका साथ ३८औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका ४५ भन्दा बढी पर्यटनसँग सम्बन्धित संस्थाको सहकार्यमा विगत झँै यस वर्ष पनि दिवस मनाउन लागिएको हो । विगतका वर्षमा सेप्टेम्बर २७ कै दिन नेपालमा मुख्य औपचारिक समारोह गरिँदै आए पनि यस वर्ष नेपालीको महान् चाड विजयादशमी अन्तर्गतको फूलपाती पर्ने भएकाले औपचारिक समारोह भने सोमबार हँुदैछ ।

संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाइँदै आएको छ । दिवसको तयारी सम्बन्धमा आज आयोजित पत्रकारसम्मेलनमा दिइएको जानकारीअनुसार औपचारिक समारोह दुई दिनअघि भए पनि पर्यटकीय संस्थाको साझेदारीमा साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरिनेछ । जसअनुरुप भोलि बिहान पर्यटन बोर्डको अगुवाइमा ठमेलदेखि भृकुटीमण्डपसम्म प्रभातफेरी आयोजना गरिनेछ भने त्यसपछि पर्यटन बोर्डमा औपचारिक समारोह गरी उत्कृष्ट ट्राभल, ट्रेकिङ तथा होटललाई पुरस्कृत गरिनेछ ।

यस्तै विभिन्न नाकाबाट स्थलमार्गबाट नेपाल भित्रिने पहिलो पर्यटक समूहलाई तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रने पर्यटकलाई स्वागत कार्यक्रम पनि तय गरिएको छ । दिवसकै अवसरमा विभिन्न होटल तथा रेस्टुरेन्टमा १५ देखि ३० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ । पर्यटकलाई काठमाडौँ दरबार क्षेत्रमा निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ ।

पत्रकार सम्मेलनमा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले दशैँको फूलपातीका कारण दिवसको दुई दिनअघि नै औपचारिक कार्यक्रम सारिएको बताए । उनले विश्व पर्यटनबाट कूल गार्हस्थ्य उत्पादनमा उच्च योगदान रहेको र नेपालको पर्यटन क्षेत्रको पनि सकारात्मक योगदान बढ्दै गएको उल्लेख गरे ।

दिवसलाई औपचारिकताभन्दा पनि सिर्जनात्मक काम गरेर मनाउनुपर्नेमा आवाज उठेको छ, तर यस वर्ष पनि केवल कर्मकाण्डीजस्तो मात्रै देखिएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले दिवसका अवसरमा सामान्यतः विगतका जस्तै कार्यक्रम औपचारिकता मात्रै रहे पनि यो वर्ष केही प्रभाव पर्ने खालका कार्यक्रम रहेको बताए । उनका अुनसार भक्तपुरको सांस्कृतिक सम्पदालाई कसरी बजार प्रवद्र्धन गर्ने भन्ने कार्यक्रम हुँदैछ भने टोनी हेगनको सतवार्षिकीका अवसरमा तस्बीर प्रदर्शनीलगायतका कार्यक्रम गरिएका छन् ।

“विश्व पर्यटन सङ्घले ‘थिम्याटिक कन्ट्री’ छनोट गरेर विश्व पर्यटन दिवस मनाउने गरेको छ, उदाहरणका लाग अहिले कतारमा भइरहेको छ । त्यस्ता कार्यक्रमका लागि नेपालले पहल गर्नसक्नुपर्छ किनकी नेपाल हिमाल र प्राकृतिक विविधतायुक्त मुलुक हो । त्यसैले यस्ता अकेजनमा नीतिगत सुधारका काम गर्नसके उपयुक्त हुने थियो,” प्रमुख कार्यकारी अधिकृत जोशीले भने । उनका अनुसार नेपालमा यो वर्ष पर्यटन क्षेत्र सकारात्मक छ, पर्यटकको सङ्ख्या ४० प्रतिशतले वृद्धि हुने देखिएको छ । भूकम्पपछिको नकारात्मक सन्देशलाई चिरेर विश्वमा सकारात्मक सन्देश छाउनाका साथै देशमा बढ्दै गएको राजनीतिक स्थिरता र निजी क्षेत्रको आर्थिक लगानी बढ्नु हो ।

सन् २०१७ को पहिलो अवधिमा करिब आठ लाख पर्यटक पुगेको बताइन्छ । सन् २०१६ मा साढे सात लाख विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । यही अनुपातलाई हेर्ने हो भने सन् २०१७ मा १० लाख पर्यटक पुग्ने अनुमान रहेको बोर्डले जनाएको छ ।

नेपालमा सबैभन्दा बढी सन् २०१२ मा आठ लाख विदेशी पर्यटक आएका थिए । संयुक्त राष्ट्र संघीय पर्यटन सङ्घको सन् २०१६ को तथ्याङ्कअनुसार विश्वमा एक अर्ब २० करोड पर्यटक पुगेका छन् । सन् १९५० मा दुई करोड ५० लाख पर्यटक थिए । यो सन् २०३० सम्म एक अर्ब ८० करोड ७० लाख पुग्ने अनुमान गरिएको छ ।

अनुपम प्राकृतिक विविधताले भरिर्पूण नेपाल विश्व पर्यटनको आकर्षण बन्दै गएको छ । अपार सम्भावनाबीच पनि नेपालले पर्यटक आकर्षण गर्न सकेको छैन । छिमेकी मुलुक भारत र चीनबाट विश्व भ्रमणमा निस्कने पर्यटकमध्ये केही प्रतिशत मात्र नेपाल भित्र्याउन सके नेपालको पर्यटकीय अर्थतन्त्रले फड्को मार्ने थियो । संसारको सबैभन्दा बढी पर्यटक घुम्न निस्कने देश चीन हो र सबैभन्दा बढी खर्च गर्ने पनि चीन नै हो ।

सन् २०१६ को विवरणअनुसार चीनबाट १२ करोड ५० लाख पर्यटक विश्व भ्रमणमा निस्किएका थिए । विश्व पर्यटनको कूल गार्हस्थ्य उत्पादनमा १०.२ प्रतिशत योगदान रहेको छ । नेपालको कूल गार्हस्थ्य उत्पादनमा करिब चार प्रतिशत योगदान रहेको छ ।

सन् २०१६ मा विश्वका प्रमुख गन्तव्य फ्रान्समा ८४ करोड पाँच लाख, अमेरिकामा ७७ करोड पाँच लाख, स्पेनमा ६८ करोड नौ लाख चीनमा, ५६ करोड नौ लाख र इटालीमा ५० करोड सात लाख पर्यटक पुगेका छन् ।

Loading...