जापानले नेपालको विकासमा सहकार्य गर्ने

टोकियो, ८ असोज । जापान सरकारले नेपालको विकासमा सहकार्य गर्दै जाने जनाएको छ । नेपालको संविधान दिवसका अवसरमा जापानी सरकारका मन्त्रीहरुले नेपाल र नेपालीलाई शुभकामनामार्फत सो भनाइ व्यक्त गरेका हुन् ।

जापानस्थित नेपाली राजदूतावासले हालै आयोजना गरेको कार्यक्रममा जापानका मन्त्री प्रत्यक्ष सहभागी भएर तथा अर्का एकजनाले शुभकामना सन्देशमार्फत नेपालको आर्थिक तथा सामाजिक विकासमा जोड दिए ।

संविधान दिवसका अवसरमा राजधानी टोकियोको ओकुरा होटलमा आयोजित कार्यक्रममा जापानी परराष्ट्र मन्त्रालयका संसदीय उपमन्त्री आयो होरीले नेपालको संविधान सदैव नेपाल र नेपालीका पक्षमा रहने विश्वास लिएको बताए ।

वर्षौंदेखिको नेपाल–जापान सम्बन्ध यस्ता कार्यक्रममार्फत अझ सामिप्यतामा पुग्ने भन्दै उनीहरुले लोकतान्त्रिक संविधानमार्फत नयाँ नेपाल बनेकोमा जापान र जापानी नागरिकमा पनि खुशीयाली छाएको भन्दै नेपाली नागरिकलाई शुभकामना दिए ।

त्यस्तै, वातावरण राज्यमन्त्री तादाहिको इतोलले नेपालको आर्थिक र सामाजिक विकासका लागि जापान सरकार सधैँ नेपाली नागरिकसँग हातेमालो गर्दै जाने बताए । कार्यक्रममा प्रत्यक्ष रुपमा उपस्थित हुन नसकेपछि सन्देशमार्फत केही समयअघि नेपाल भ्रमण गरेको बताउँदै उहाँले संविधानले हरेक नेपाली नागरिकमा जिम्मेवारी बढाएको बताए ।

कार्यक्रममा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले नेपाल–जापान सम्बन्ध अझ नजिक बनाउन आफू सक्रियताकासाथ लागिपरेको बताउँदै भोलिको नयाँ नेपाल निर्माणमा जापानी लगानी अपरिहार्य रहेको बताए ।

राजदूत राणाले नेपालको पर्यटकीय क्षेत्र, जल, ऊर्जा र भौतिक पूर्वाधार विकासमा सघाउन जापान सरकारलाई आग्रह गरेका थिए । बुधबार साँझको सो कार्यक्रममा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली हस्तकलाका वस्तुको उपहारका साथ पर्यटन प्रवद्र्धनात्मक सामग्रीसहितको झोलासमेत वितरण गरिएको थियो ।

नेपालका निर्यातयोग्य वस्तु पस्मिनालगायत हस्तकलाका सामग्रीको प्रदर्शन गरिएको कार्यक्रममा जापानी संसद्, परराष्ट्र मन्त्रालयका अधिकारी, कूटनीतिक नियोगका प्रमुखले संविधान दिवसमार्फत नेपाल–जापान सम्बन्ध नजिक बनाउन भएको प्रयासको प्रशंसा गरेका थिए ।

सहभागी नेपाली व्यवसायी तथा गैरआवासीय नेपाली संघ जापानका प्रतिनिधिले नेपालको पर्यटन प्रवद्र्धनमा जापानको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।

Loading...