कोशी टप्पुबाट चितवन निकुञ्जमा ल्याइएका अर्नाको स्वास्थ्य नाजुक

चितवन, ७ असोज । कोशी टप्पुबाट स्थानान्तरण गरी यहाँ ल्याइएका अर्नाको स्वास्थ्य नाजुक बन्दै गएको छ ।

गत साउन अन्तिम साता आएको बाढीले घाँसे मैदान र पानी पोखरी पुरिएको, पानी प्रदूषित भएको र आवश्यक खानाको अभावका कारण अर्नाको स्वास्थ्य बिग्रेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बाढीपछि दुई अर्ना मरिसकेका छन् भने अन्य अति दुब्लाएका छन् । उनीहरूको च्यापु सुन्निएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरमा खुला खोरमा १५ अर्ना कोशी टप्पु र सदर चिडियाखानाबाट ल्याएर राखिएको थियो । चिडियाखानाबाट ल्याइएका तीन अर्ना यसअघि नै मरिसकेका थिए । कँडेलका अनुसार एकाएक अर्नाको अवस्था बिग्रिएपछि निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईको नेतृत्वमा यही असोज २ गते आएको टोलीले स्थलगत अध्ययन गरी आवश्यक निर्देशन दिएको छ । टोलीले अर्नालाई प्राकृतिक रुपमा भएको भन्दा अतिरिक्त खाना दिने, घाँसे मैदानको व्यवस्थापन गर्ने, सतहमुनिको सफा पानी तानेर खुवाउनेलगायत निर्देशन दिएको छ ।

अहिले निकुञ्जले अर्नालाई आयोडिनयुक्त नुन, चोकर, मकैको घाँस, परालसहित भिटामिन र खनिज दिँदै आएको छ । खुला खोरभित्र व्यवस्थापन गरिएको घाँसे मैदान हिलाले पुरेको थियो भने निर्माण गरिएका पानीका पोखरी पुरिएर बगर बनेका छन् । निकुञ्जले अहिले ढड्डी भएका क्षेत्रमा फाँडेर घाँसे मैदान व्यवस्थित गर्दै छ । मिचाहा प्रजातिका वनमारा, माइकेनियाजस्ता झार हटाउने काम भइरहेको छ । थप अर्ना मरेमा रेडियो कलर जडान गरेर खोरबाट बाहिर छाड्ने तयारीसमेत गरिएको कँडेलले बताउनुभयो । थप अर्ना ल्याएर बथानमा छाड्नुपर्ने सुझाव दिइएको छ ।

निकुञ्जको पूर्वी क्षेत्र हेर्दै आएका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार गत भदौ १८ गतेपछि अर्नाको स्वास्थ्य बिगिँ्रदै गएको हो । दिनहुँ स्वास्थ्य बिग्रिँदै गएपछि गोबर परीक्षण गरिएको छ । पानी परीक्षणका लागि काठमाडौँ पठाइएको छ । अहिले भएका अर्नामा नाम्ले, माटेजुका र गोलो जुका देखिएको तथा आवश्यक उपचार जारी रहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

निकुञ्जका पशु चिकित्सक डा कमल गैह्रेले बाढीपछि धेरै दिन खान नपाएको र प्रदूषित खाना खाएकाले अर्नामा संक्रमण देखिएको बताए । उनले भने “जुका मात्रै समस्या नभएर बाढीपछिको दवाव र तनावले रोग प्रतिरोधात्मक क्षमता घटेसँगै समस्या आएको हो ।”

विभागले एक ठाउँमा मात्रै रहेका दुर्लभ वन्यजन्तुलाई महामारी रोगबाट बचाउन विभिन्न ठाउँमा स्थानान्तरण गर्दै आएको छ । सोहीअनुसार गत माघ १३ गतेदेखि २४ गतेसम्म कोशी टप्पु र सदर चिडियाखानाबाट १५ अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको थियो ।

चिडियाखानाबाट ल्याइएका एक भाले र दुई पोथी गत जेठमा नै मरेका थिए । बाँकी दुई भाले र आठ पोथी अर्ना संक्रमित भएका हुन् । सोही खोरमा शुक्लाफाँटाबाट ल्याइएका सात बाह्रसिंगेमध्ये तीन मरेका छन् भने तीन वटा हराइरहेका छन् । खोरमा एउटा मात्रै बाह्रसिंगे देखिएको छ ।

Loading...