कँडेललाई ‘मदन पुरस्कार’ र वात्सायनलाई ‘जगदम्बाश्री’

काठमाडौँ । मदन पुरस्कार गुठीले विसं २०७३ को ‘मदन पुरस्कार’ ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेल र ‘जगदम्बाश्री’ पुरस्कार व्यङ्ग्यचित्रकार दुर्गा बराल ‘वात्सायन’लाई प्रदान गरेको छ ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले उनीहरूलाई आज जनही दुई लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गरे । गुठीले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास, विस्तार र प्रवद्र्धन गर्ने व्यक्तिलाई प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

मदन पुरस्कार विजेता कँडेलले मदन पुरस्कार जस्तो स्वच्छ, निष्पक्ष र गरिमायुक्त पुरस्कारद्वारा छन्दका कविता लेख्नेलाई दिएको सम्मानप्रति आफू निकै हर्षित भएको बताए । धादिङ जिल्लाको मलेखुमा जन्मिएका कवि कँडेलले वनारसबाट संस्कृतमा शास्त्री तथा नेपाली र अङ्गेजीमा स्नातकोत्तरसम्म शिक्षा प्राप्त गर्नुका साथै त्रिविमा नेपाली केन्द्रीय विभागका प्रमुखसमेत भइसकेका छन् । वनारसमा बस्दा उनले ‘उदय’, ‘आमा’, ‘छात्रप्रभा’ र ‘नयाँ पाइला’जस्ता साहित्यिक पत्रिकामा कविता लेख्न शुरु गरेका थिए ।

कवि कँडेलका ‘पच्चीस वर्षका खण्डकाव्य’, ‘देवयानी’, विश्वामित्र जस्ता कृति प्रकाशित छन् ।‘धृतराष्ट्र’ मा अपाङ्गता भएका र समाजमा हेलित भएकाहरूको पक्षमा आवाज उठाइएको छ ।

त्यसैगरी नेपाली व्यङ्ग्यचित्र विधा क्षेत्रका नक्षत्र वात्सायनले इतिहासमा पहिलो पटक ‘कार्टुनिष्ट’ले पुरस्कार पाउँदा ‘कार्टुन’ विधाका सबैलाई सम्मान गरिएको महसुस भएको बताए । नदीपुर पोखरामा जन्मिएका बराललाई सानैदेखि चित्रप्रति निकै शोख थियो । पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनःबहाली गर्न तथा उत्पीडन, शोषण, अन्याय, अत्याचार, विकृति र विसंगतिप्रति उनको कार्टुन निकै प्रखर मानिन्छ ।

“पाँच दशकभन्दा लामो कार्टुनकलाको यात्रामा यो पुरस्कार प्राप्त गर्दा मलाई ठूलो ऊर्जा र जिम्मेवारी थपिएको छ, यो यात्रालाई निरन्तर अगाडि बढाउने हौसला पाएको छु”, उनले भने ।

गुठीका अध्यक्ष दीक्षितले वात्सायनले कार्टुन विधाबाट र कँडेलले खण्डकाव्यका माध्यमबाट नेपाली साहित्यमा पु¥याएको योगदान अतुलनीय रहेकोे बताउनुभयो । गुठीले प्रदान गरेको यो मदन पुरस्कार ६१औँ हो । विसं २०१३ मा पुरस्कार स्थापना गरिएको हो ।

Loading...