सिलवाल प्रलेस प्रतिभा पुरस्कारबाट पुरस्कृत

काठमाडौँ, ६ असोज । प्रगतिशील लेखक संघले साहित्यकार केशव सिलवाललाई प्रलेस प्रतिभा पुरस्कार प्रदान गरेको छ ।

प्रलेसको ६५ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सिलवाललाई १० हजारसहित पुरस्कृत गरियो । सो अवसरमा नेकपा(क्रान्तिकारी माओवादी)का अध्यक्ष एवं साहित्यकार मोहन वैद्य चैतन्यले नेपालको रुपान्तरणका लागि साहित्यकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा प्राज्ञ डा अमर गिरीले ‘प्रगतिशील दृष्टिमा पुरस्कार र सम्मान संस्कृति’ विषयको कार्यपत्र प्रस्तुत गर्दै जनमुखी कामका लागि दिइने लिइने पुरस्कारलाई प्रोत्साहन गर्नुपर्ने बताए । सो कार्यपत्रमाथि नेपाली लेखक सङ्घका अध्यक्ष एवं प्राज्ञ श्रवण मुकारुङ, साहित्यकार आहुति, गोविन्द आचार्यलगायतले टिप्पणी गरेका थिए ।

प्रलेसका अध्यक्ष मातृका पोखरेलले कम्युनिस्ट पार्टीको विभाजनसँगै प्रगतिशील लेखकहरूसमेत विभाजन हुँदै गएकामा चिन्ता व्यक्त गरे । पुरस्कृत व्यक्तित्वबारे डा विन्दु शर्माले जानकारी दिएका थिए । सो पुरस्कार सङ्घका पूर्वाध्यक्ष आनन्ददेव भट्टले एक लाख अक्षय कोष स्थापना गरी सो पुरस्कार खडा गरिएको हो । विसं २००९ मा श्यामप्रसाद शर्मा नेतृत्वमा प्रलेसको जन्म भएको हो ।

Loading...