पोखरालाई यसरी बनाइने भयो स्मार्टसिटी

पोखरा, ५ असोज । विश्वप्रसिद्ध पर्यटकीय नगरिकारुपमा स्थापित पोखरालाई मुलुककै पहिलो स्मार्ट सिटीका रुपमा विकास गरिने भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका र आइटीभेन्चर कर्पोरेसनबीच आज भएको समझदारीअनुसार सार्वजनिक र व्यक्तिगत साझेदारी (पिपिपी) अवधारणाअन्तर्गत पोखरालाई स्मार्ट सिटीका रुपमा विकास गरिने भएको हो ।

पोखरामा आज आयोजित एक कार्यक्रमकाबीच पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेल र न्यू आइटी भेन्चरका तर्फबाट कार्यकारी सञ्चालक तादासी मोरीले समझदारीपत्रमा हस्ताक्षर गरे ।

‘छरितो शहर हाम्रो अभियान, एनआइटिभीको सहयोगलाई हार्दिक सम्मान’ भन्ने मुख्य लक्ष्यका साथ भएको सम्झौतामा पोखरामा पर्यटन आगमन बढाउन र स्थानीय सुरक्षाको प्रत्याभूतिका लागि सूचना तथा संचार प्रविधिको भरपुर उपयोग गरिने उल्लेख छ ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको विकासमा सम्झौता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै यसमा नगरवासीको महत्वपूर्ण सहयोगको अपेक्षा गरे ।

न्यू आइटी भेन्चरका कार्यकारी संचालक दातासी मोरीले पोखराको शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् तथा गरिबी निवारण र मानवअधिकारलाई लच्छित गरी दुई वर्षभित्र गुरुयोजना तयार गरिने बताए ।

Loading...