म्यान्मारमा अन्तरराष्ट्रिय निगरानी स्वीकार्य छ : सुकी

एजेन्सी । म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुुकीले म्यानमारका रोहिङ्गाको बारेमा विश्वव्यापी रुपमा गरिएको आलोचनाको बचाउ गरेकी छन् ।

साथै रोहिङ्गा सङ्कटलाई लिएर अन्तरराष्ट्रिय समुदायले कडारुपमा निगरानी गरिरहेका भन्ने भनाइको जवाफ दिँदै यसबाट आफूलाई कुनै आपत्ति नहुने पनि बताएकी छन् ।

अहिलेसम्म म्यानमारबाट उक्त देशका चार लाखभन्दा बढी मुस्लिम नागरिक भागेर बङ्गलादेश पुग्न बाध्य भएका छन् । उक्त हिंसाबारे पहिलो पटक उनले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै सो धारणा राखेकी हुन् ।

उनले अधिकांश मुस्लिमहरुले देश नछाडेको र अगष्ट २५ देखि सुरु भएको हिंसा अहिले भने रोकिएको दाबी पनि सो सम्बोधनमा गरेकी छन् ।

उनले देश छाडेर भाग्नेहरुसँग उनीहरुले त्यसो गर्नुपर्नाको कारण खोजीगर्ने र त्यसका लागि सरकारले अब अनुसन्धानको प्रक्रिया थाल्ने पनि जानकारी सो सम्बोधनका क्रममा दिएको म्यानमारबाट प्राप्त समाचारमा जनाइएको छ ।

म्यानमारको सेनाद्वारा उक्त समुदाय विरुद्ध भएका दमनबारे उनले केही उल्लेख गरेकी छैनन । तर, उनले निर्दोष मानिसहरुलाई यसरी देश छोड्नुपर्ने गरी कारबाहीको प्रक्रिया अघि नबढाउन सेनालाई निर्देशन दिइएको जानकारी भने उनले दिएकी छन् ।

म्यानमारको सेनाले गरेको रोहिङ्गमाथिको धरपकडको बारेमा जवाफ दिन विश्व समुदायबाट उनीमाथि दवाव पर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघ र विश्व समुदायले उक्त जातिमाथिको मानाअधिकार हनन्को अवस्था रोक्न र देश छोडेर भागेकाहरुलाई घर फर्किने वातावरण निर्माण गर्न म्यानमार सरकारलाई आग्रह गर्दै आएका छन् ।

उनले उक्त समुदायको बारेमा नबोलेको र बचाउ पनि नगरेको भन्दै उनको कडा आलोचना भएको छ । म्यानमार भित्र र बाहिरबाट उनले पाएको नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने आवाज समेत उठाउँदै आएका छन् ।

Loading...