उर्जा राज्यमन्त्रीको क्षेत्रमा हेलिकप्टरबाट मतपेटिका आेसारियो

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा हेलिकप्टरबाट मतपेटिका आेसारिएको छ । सुगम मानिने तराईमधेसमा मतपेटिका आेसार्न हेलिकप्टर प्रयोग गर्नु परेको हो ।

 

लालबन्दी नगरपालिका अन्तर्गत नारायणखोलाको एउटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको छ ।

 

लालबन्दी नगरपालिका–१४ मा पर्ने डाइनी दोभान मतदान केन्द्रबाट आज मंगलबार बिहान सेनाको हेलिकप्टरमा मतपेटिका लालबन्दी नगरपालिकास्थित मतदान अधिकृतको कार्यालयसम्म ल्याइएको हो ।

 

खोलामा बाढी आएर पैदल मार्ग अवरुद्धभएपछि हेलिकप्टरबाट उक्त केन्द्रको मतपेटिका, त्यहाँ खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई लालबन्दी ल्याइएको मतदान अधिकृत बाबुराम अधिकारीले बताए । नारायणखोलाकै मोटर दोभान मतदान केन्द्र ९क र ९ख बाट भने ट्र्याक्टरमार्फत नै मतपेटिका ल्याइएको थियो ।

 

चुरेभेगमा पर्ने नारायणखोला सर्लाही जिल्लाको सबैभन्दा विकट मानिन्छ । त्यहाँ अहिलेसम्म सडक पुग्न सकेकाे छैन । लालबन्दी बजारबाट पत्थरकोटसम्म सवारी साधनमा र त्यहाँबाट दुई घण्टाभन्दा बढी पैदल हिँडेपछि मात्र नारायणखोलासम्म पुग्नुपर्ने बाध्यता रहिआएको छ । यस क्षेत्रबाट सांसद चुनिएका शम्भुलाल श्रेष्ठ बर्तमान सरकारमा उर्जा राज्यमन्त्री रहेका छन् ।

 

हरिवनमा मतपेटिका बोकेको गाडीमा बम बिस्फोट

जिल्लाको हरिवन नगरपालिका अन्तर्गत बिलन्दी प्रा.वि.मा रहेको मतदान केन्द्रको मतपेटिका बोकेको गाडी बम विष्फोटमा परेको छ ।

सुरक्षाकर्मीसहित मतपेटिका बोकेर नगरपालिकाको कार्यालयतर्फ जाँदैगरेको गाडी बम विष्फोटमा परेको हो ।

विस्फोटपछि प्रहरीले हवाई फायरिङ गर्नुको साथै नेपाली सेनाले हवाई गस्ती समेत गरेको बताइएको छ ।

विस्फोटबाट कुनै मानवीय क्षति नभएको र मतपत्रसमेत सुरक्षित रहेको प्रहरीले जनाएको छ । बिस्फोटको जिम्मा कसैले लिएको छैन ।

घटना स्थल हरिवन बजार राजमार्ग भन्दा  डेढ घण्टाको दुरीमा मतदान भएको दिन सोमबार साँझ भएको स्थानियबासीले जानकारी दिएका छन् ।

Loading...