झापा ११ ए डिभिजनमा परेपछि पूर्वमा छुट्टै उत्साह

बिर्तामोड, १ असोज । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले झापा ११ लाई ए डिभिजन क्लबको मान्यता दिएसँगै झापाली खेलप्रेमी उत्साहित बनेका छन् ।

राष्ट्रियस्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको झापा ११ले पाएको यो सफलतापछि सरोकार राख्नेहरुबीच भेटघाट र टेलिफोनमार्फत बधाई तथा शुभकामना समेत साटासाट भइरहेको छ । झापा ११लाई अगुवाई गरिरहेकाहरु यो सफलतासँगै मुलुकमा झापाको गौरब बढेको बताउँछन् ।

झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले एन्फाको निर्णयसँगै आफूहरु खुशी र उत्साहित भएको बताए । ‘देशभर झापाको शान बढेको छ, झापालाई चिनाउने यो अवसर पनि हो’– गुरुङले भने– ‘यो हाम्रो लागि ठूलो उपलब्धि हो, यस अवसरलाई सबैको सहयोग लिएर सफलतामा परिणत गर्नेछौं ।’ सबै क्षेत्रको मेहेनत र त्यागले गर्दा यो सफलता प्राप्त भएको पनि गुरुङले बताए ।

झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले झापा ११ ए डिभिजनमा पर्नु जिल्लावासीको गौरवको विषय भएको बताए । यो सफलतासँगै झापाको फुटबल अब व्यवसायिकतातिर अघि बढेको गिरीको भनाइ छ । ए डिभिजनमा अधिकांश काठमाडौंका मात्र क्लब रहँदै आएकोमा मोफसलमा रहेर पनि झापाको उत्कृष्ट प्रदर्शनले यो सफलता हासिल गर्न सकिएको उनले बताए ।

‘झापालाई फुटबल हव बनाउने लक्ष्यमा ठूलो उपलब्धि प्राप्त भएको छ’– अध्यक्ष गिरीले भने– ‘फुटबल खेल र खेलाडीलाई राम्रो दृष्टिकोणले नहेर्नेहरुलाई यो सफलताले राम्रो जवाफ पनि दिएको छ ।’ नेपाली फुटबलमा झापा अब्बल छ भनेर यो पटक पुष्टि भएको बताउँदै गिरीले भने– ‘झापा ११ नेपालकै उत्कृष्ट फुटबल क्लब बन्नसक्छ ।’ आगामी दिनमा झापा ११लाई उत्कृष्ट बनाउन यसको संरक्षणसँगै सहयोग जुटाउन जरुरी रहेको उनले बताए । झापा ११का लागि आर्थिक पाटो दह्रो बनाउन सकियो भने यो क्लब नेपालकै उत्कृष्ट बन्ने गिरीको दावी छ ।

झापा ११का कोचको समेत भूमिका निर्वाह गरिरहेका टिम क्याप्टेन प्रवेश कटुवाल अझ बढी खुशी देखिएका छन् । मोफसलका लागि यो ठूलो सफलता भएको कटुवालले बताए । ‘ए डिभिजनमा समावेश भएसँगै हामी सबै खेलाडी उत्साहित बनेका छौं’– कटुवालले भने– ‘झापा ११का खेलाडीको उत्कृष्ट प्रदर्शनकै कारण यो उपलब्धि हासिल भएको हो ।’ विगतका कमजोरीलाई अझ सुधारेर अब नयाँ ढंगले अघि बढ्ने बताउँदै उनले भने– ‘हामी लिग च्याम्पियन हुने गरी अघि बढ्नेछौं ।’ झापा ११ ए डिभिजनमा परेसँगै मनाङ मस्र्याङ्दी, थ्री स्टार लगायतका चर्चित क्लबहरुमा खेल्दै आएका झापाली खेलाडीले अब झापा ११बाट खेल्ने प्रस्ताव समेत अघि बढाएको बुझिएको छ । अन्य क्लबमा खेल्ने गरेका झापाली खेलाडीहरुले अब आफ्नै जिल्लाका क्लबबाट खेल्ने इच्छा राखेका छन् ।

गत बर्ष झापामा भएको रेडबुल लिग छनौटमा सहभागी ९ टिम मध्ये झापा चौथो भएको थियो । झापा ११ले १० लाख रुपैयाँ राशीको एन्फा कपको उपाधि समेत जितेको छ । त्यस्तै दुईपटक माईभ्याली गोल्डकप जितिसकेको छ । विराट गोल्डकप १ पटक जितेको छ भने एक पटक उपविजेता बनेको छ । रमपम झापा गोल्डकपमा दुईपटक झापा ११ उपविजेता बनेकोे थियो । त्यस्तै पोखरामा भएको राष्ट्रिय प्रतियोगितामा समेत सेमीफाइनलसम्म आफ्नो उत्कृष्ट प्रदर्शन समेत गरेको थियो ।

झापा ११सँगै मोफसलका अन्य तीन वटा क्लबले पनि ए डिभिजनको मान्यता पाएका छन् । मोरङ, रुपन्देही र सुदूरपश्चिम फुटबल क्लबले ए डिभिजनको मान्यता पाएका हुन् । योसँगै ए डिभिजनको मान्यता पाउने क्लब संख्या १६ पुगेको छ ।

यसअघि उपत्यकाका ‘ए’ डिभिजन क्लबमा थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, सरस्वती युथ क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब रहेका छन् ।

एन्फाले ए डिभिजनको लिग पनि होम एण्ड अवे पद्धतिमा खेल्ने निर्णय गरेको छ । एन्फाले मंसीरको दोस्रो साताबाट लिग आयोजना गर्ने समेत निर्णय गरिसकेको छ ।

Loading...