१३ वर्ष शनि ग्रहको फन्को मारेर वायुमण्डलमा ठाेक्किएर टुक्राटुक्रा भयाे कसिनी

काठमाडाैं । २० वर्षमा ८ अर्ब किलोमिटर यात्रा गरेको नासाको कसिनी अन्तरीक्षयान अन्ततः शनि ग्रहको वायुमण्डलमा ठोक्किएर समाप्त भएको छ। नासा, युरोपियन स्पेस एजेन्सी र इटालियन स्पेस एजेन्सीको सहकार्यमा सन् १९९७ अक्टोबर १५ मा सुरु भएको सो अभियान समाप्त भएको हो।

कासिनीले गत १३ वर्ष त शनि ग्रहको वरिपरि घुमेर बिताएको छ। २००५ देखि यसले शनि र त्यसका उपग्रहहरुको अध्ययन गर्न थालेको थियो। यी वर्षहरुमा कसिनीले शनि ग्रहसम्बन्धी विभिन्न तस्वीर विवरणहरु पृथ्वीमा पठाएको थियो।

नियन्त्रणकर्ताहरुले शनिको वायुमण्डलमा ठोक्किएर ध्वस्त हुने निर्देशन दिएका थिए। कसिनीको इन्धन समाप्त भएको थियो र यसलाई अनियन्त्रित अवस्थामा शनि र उसका उपग्रहहरुको बीचमा छोडिनु नहुने निर्णय नासाले गरेको थियो।

क्यालिफोर्नियाका जेट प्रोपल्सन ल्याबरोटरीबाट कसिनीको सिग्नल गुमेको बताइएको थियो । टुक्राटुक्रा हुनुअघि कसिनी शनिको वायुमण्डलमा १ लाख २० हजार किलोमिटर प्रतिघण्टाको गतिमा ठोक्किएको थियो।

कसिनीलाई सबैभन्दा सफल अन्तरीक्ष अभियानमध्ये एक मानिएको छ। २७ राष्ट्रका वैज्ञानिकहरु सम्मिलित यो अभियानमा ३.९ अर्ब डलर खर्च भएको थियो।

शनि ग्रहमा आएको आँधी, सो ग्रहको बाहिरी घेरा, आदिको फोटो कसिनीले पठाएको थियो। साथै शनिका उपग्रहहरुमा जीवनको अस्तित्वबारे पनि यसले खोजी गरेको थियो। टाइटान तथा एन्सेलाडसजस्ता पानीको सम्भाव्यता भएका उपग्रहहरुबारे पनि यसले गम्भीर अध्ययन गरेको थियो।

Loading...