ग्लोबल आइएमई बैंकको कामु सिईओमा पौड्याल नियुक्त

काठमाडौं । ग्लोबल आइएमइ बैंकले कामु सिइयोमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बैक सञ्चालक समितिको बुधबार बसेको बैठकले पौड्याललाई कामु सिइओमा नियुक्त गरेको हो ।

ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजिनामा दिएपछि सञ्चालक समितिले पौड्याललाई कामु सिइओमा नियुक्त गरेको हो । बुधवार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीले दिएको राजिनामा पनि स्वीकृत गरेको छ। ज्ञवालीले दुई वर्ष कार्यकाल बाँकी छँदै आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

नवनियुक्त कामु सिइओ पौड्यालसँग ३० वर्ष विभिन्न बैंकमा काम गरेको अनुभव रहेको बताइएको छ । पौड्यालले नबिल बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए । सन् १९८७ मा इन्ट्रि लेभलबाट करियर सुरु गरेका उनले नबिलमा ११ बर्ष काम गरेपछि एनआइसी बैंक (अहिलेको एनआइसी एसिया) गएका थिए। एनआइसी स्थापनामा सक्रिय भूमिका खेलेका पौडेलले त्यहाँ पाँच बर्ष काम गरेपछि लक्ष्मी बैक स्थापनाको प्रकृया थाल्न त्यता गए। लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन गए। लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव पौडेलसँग छ। उनले त्यहाँ साढे चार बर्ष काम गरेका थिए।

ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग लण्डनमै चिनजान भएकाले उनी काठमाण्डौं फर्केर ग्लोबल बैंकको ब्यवस्थापनमा करारमा भित्रिए। ग्लोबल बैंकमा उनी सहायक महाप्रबन्धकका रुपमा भित्रिएका थिए। ग्लोबलको नायव प्रमुख कार्यकारी हुँदै उनी कामु प्रमुख कार्यकारी अधिकृत बनेका हुन्।

हिजै २० प्रतिशत लाभांस घोषणा गरेको ग्लोबल आइएमइको चुक्ता पूँजी ८ अर्ब ८८ करोड पुगेको छ। बैंकले दुई अर्ब नाफा गर्दै निक्षेप एक खर्ब नघाएको छ ।

Loading...