नक्कली भ्याट प्रयाेग गर्ने ९ व्यवसायीविरुद्ध १९ करोडको मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरी ९ जना व्यवसायी तथा फर्मले ९ करोड रुपैयाँभन्दा बढी कर छली गरेको अभियोगसहित मुद्दा दायर गरेको छ । विभागले गरेको अनुसन्धानमा आरोपितहरूले नक्कली भ्याट बिल प्रयोग गरी कर छली गरेको भेटिएपछि पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले आरोपितहरूले झुटा खरिद विवरणसहितको मूल्य अभिवृद्धि कर विवरण पेश गरी यसबाट मूल्य अभिवृद्धि कर क्रेडिट दाबी गरी विभिन्न फर्महरूलाई नक्कली भ्याट विक्रीबिजक जारी गरी राजस्व छली गरेको पाइएको बताएको छ ।

विभागका अनुसार उक्त कसुरमा संलग्न रहेका प्रदीपकुमार बर्मा, दिपककुमार बर्मा, गणेश रिजाल, अनिल महतो धानुक, गुल्सन श्रीवास्तव, दशरथ हजारा दुसाद, उपेन्द्र महतो, राजेशकुमार श्रीवास्तव र सिकेन्द्रकुमार श्रीवास्तवसमेत गरी नौजना प्रतिवादीहरू संलग्न रहेको भेटिएको छ ।

अनुसन्धान अनुसार स्थायी लेखा नं. ६०३८५०९४५ रहेको कालिका ट्रेड एण्ड सप्लायर्स, ३०१७९७४५ रहेको आदित्य टे«ड एण्ड सप्लायर्स, ६०३३५८८०९ भएको जय विश्वकर्मा ट्रेड कन्सर्नले सामान खरिद गर्दा झुटो भ्याट बिल पेश गरेको विभागको ठहर छ ।

उनीहरूविरुद्ध विभागले ९ करोड ९१ लाख ४६ हजार रूपैयाँ बिगोसहित त्यसको दोब्बर १९ करोड ८३ लाख ७२ हजार रूपैयाँ जरिवाना दाबी गर्दै मुद्दा चलाएको हो । दुई दिनअघि दायर गरिएको मुद्दामा उल्लेख भएअनुसार भ्याट छलीमा संलग्नलाई जरिवानासहित ३/३ वर्षको कैद सजायसमेत माग दाबी गरिएको छ ।

विभागका प्रवक्ता देवीप्रसाद थपलियाले अनुसन्धानमा भेटिएका कैफियतका आधारमा पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरिएको बताए । विभागले उल्लेखित नौ जना प्रतिवादीहरूले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ बमोजिमको कसुर गरेको पाइएको भन्दै विभागले आरोपीहरूबाट जम्मा बिगो दाबीस्वरूप ९ करोड ९१ लाख ८६ हजार ७८ रूपैयाँ कायम गरेको हो ।

“भ्याटछली प्रकरणमा संलग्न आरोपीहरूलाई राजस्व चुहावट अनुुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा २३ (१) बमोजिम बिगोको दोब्बरले १९ करोड ८३ लाख ७२ हनार १ सय ५६ जरिवाना गरी ऐनबमोजिम हुने कैद सजाय हुन माग दाबी लिइ मिति २०७४ भदौ २६ गते जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गरिएको छ,” विभागले भनेको छ ।

थपलियाले मुद्दा अदालतमा गएको बताउँदै यसबाट संलग्न आरोपितहरूलाई कानुनबमोजिम कारबाही हुने जानकारी दिए । “विभागले मुद्दा दायर गरेको छ, अबको बाटो जे गर्ने हो अदालतले नै गर्छ” उनले भने ।

विभागका अनुसार उनीहरूले वस्तुको कारोबार नै नगरी बिलबिजक जारी गरेर सरकारसँग भ्याट क्रेडिट दाबी गरेका थिए । ती फर्मका बिलबिजक स्वीकार गर्ने थप २९ फर्ममाथि पनि अनुसन्धान भइरहेको विभागले जनाएको छ । यसअघि विभागका तत्कालीन महानिर्देशक रामकृष्ण सुवेदीले अहिलेसम्मकै ठूलो नक्कली भ्याटबिल छानबीन सुरु भएको बताएका थिए ।

विभागले गरेको अनुसन्धानअनुसार आरोपीहरूले स्वयं कर प्रणालीको दुरूपयोग गर्दै राज्यलाई तिर्नुपर्ने भ्याट रकमभन्दा बढी देखिने काल्पनिक खरिद विवरणसहितको विवरण पेस गरी राजश्व छल्ने गरी प्रयत्न गरेको देखिन आएको अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ ।

अधिकारीका अनुसार विभागले कर सहयोगी प्रदीपकुमार बर्माको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । उनका भाइ दिपककुमार बर्माले भने नक्कली बिलबिजकका लागि संयोजन र सहयोग गर्ने गरेको विभागको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धान अनुसार दशरथ हजारा दुसादको नाममा जय विश्वकर्मा ट्रेड कन्सर्न र अनिलकुमार धानुकका नाममा कालिका ट्रेड एन्ड सप्लायर्स दर्ता गरिएको छ । तर, ती फर्मको बैंक खाता सञ्चालन भने गुल्सन श्रीवास्तव र उपेन्द्र महतोले गर्ने गरेको अनुन्धानमा खुलेको बताईएको छ ।

नक्कली भ्याट बिल प्रकरणमा दायर गरिएको यो झण्डै एक दशकपछिको ठूलो मुद्दा हो । विभागले झण्डै तीन महिना लामो अनुुसन्धानपछि मुद्दा दर्ता गरेको बिभागले जनाएको छ ।

Loading...