अपहरण र हत्या क्रम बढ्दै, सुरक्षा पहुँच कमजाेर हुँदै

प्रहरीकै सामु हत्या र अपहरण । तर, कुनै सुइकाे पाउँदैन प्रहरी

काठमाडाैं, १७ असार । दाङमा व्यवसायी तथा व्यापारीहरुकाे अपहरण गरी हत्याका घटना बढ्दै गएका छन् । पछिल्लाे समयमा यसरी चार जना चर्चित व्यवसायीहरुकाे अपहरण र हत्या भइसकेकाे छ ।

 

शुक्रबार तुल्सीपुरका व्यवसायी राजकुमार श्रेष्ठकाे शव भेटिएपछि यहाँका व्यवसायीहरु त्रसित बनेका छन् । तुल्सीपुरबाटै कारसहित अपहरणमा परेका व्यवसायी श्रेष्ठ गत जेठ २६ गते अपहरणमा परेका थिए । घरबाट रोटरी क्लबको बैठकमा जाने भनेर हिँडेका श्रेष्ठलाई बाटोबाटै अपहरण गरिएकाे बताइन्छ । जेठ २६ मा अपहरणमा परेका उनकाे शव २२ दिनपछि सल्यानकाे छत्रेश्वरी गाउँपालिका वार्ड नं ४ काे सीमामा पर्ने झिम्पे क्षेत्रकाे जंगकाे अाेढारमा भेटियाे । अाेढारमा लुकाएर राखेकाे उनकाे शव कुहिएकाे अवस्थामा फेला परेपछि उनकाे हत्या अपहरण परेकाे केही दिनमै भएकाे अनुमान गरिएकाे छ ।

 

त्यस्तै घटना एक महिनाअघि तुलसीपुरमै भएकाे थियाे । तुलसीपुरकै अर्का व्यवसायी रत्नबहादुर ओलीलार्इ पनि एक समूहले अपहरण गरेकाे थियाे । एकाएक वेपत्ता भएका व्यवसायी अाेली २८ दिनपछि मृत अवस्थामा फेला परेका थियाे । उनकाे शव घाेराहीकाे चाैपट्टा जंगलमा भेटिएकाे थियाे ।

 

त्यसअघि ०६७ साल साउन ६ गते तुलसीपुरकै प्रतिष्ठित व्यवसायी सञ्चार उद्यमी देवीप्रसाद धिताल (हेमराज) को दिउँसै गोली हानी हत्या गरिएकाे थियाे । त्यसैगरी तुलसीपुरकै व्यवसायी जागेश्वर डाँगीको पनि त्यसरी नै हत्या गरिएकाे थियाे ।

 

घटना घटाउने तर दोषी पहिचान नहुँदा अपराधीले क्रियाशीलता र बढवा पाएको भन्दै जिल्लाका व्यवसायी त्रसित भएका छन् । केही वर्षयता जिल्लामा भएका यी सबै घटना व्यवसायी केन्द्रित देखिएका छन् । जिल्लामा शृंखलाबद्ध तरिकाले व्यवसायी अपहृत हुने र हत्या भइरहँदा व्यवसायीले असुरक्षित महसुस गरिरहेका छन् । आपराधिक कार्यमा गिरोह नै सक्रिय भएको हुन सक्ने अनुमान गरिएको छ ।

 

यी सबै घटना पैसा लुट्ने, फिराैती माग्ने उद्देश्यले भएकाे देखिन्छ । यसले सुरक्षा अवस्थामाथि चुनाैती थपेकाे छ । साथै यसले यस क्षेत्रमा सुरक्षाकाे प्रभावकारिता पनि कमजाेर देखाएकाे छ । अापराधिक समूहले सहजै चलखेल गर्न सक्ने र घटना घटाउन सक्ने तर त्यसबारे कुनै सुइकाे सुरक्षा निकायले नपाउने स्थिति यहाँ देखिएकाे छ । यसबारे व्यवसायी व्यापारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

 

Loading...