११ वर्षदेखि फरार रहेका गाविस उपाध्यक्ष पक्राउ

चौतारा, २८ भदौ । नागरिकता र सरकारी छाप कीर्ते गरेको अभियोगमा कैद तथा जरिवानाको फैसला भई ११ वर्षदेखि फरार दोषीलाई प्रहरीले मङ्गलबार पक्राउ गरी कारागार चलान गरेको छ ।

साबिक मेलम्ची गाविस –७ हाल मेलम्ची नगरपालिका–११ बस्ने तत्कालीन गाविसका उपाध्यक्ष कुमार पाण्डेलाई कारागार लगिएको जिल्ला अदालत सिन्धुपाल्चोकका स्रेस्तेदार महेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

दोषी पाण्डेले सरकारी छाप दुरुपयोग गरी कीर्ते दस्तखत गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयले २०६३ सालमा जाहेरी दिएपछि अदालतले एक वर्ष कैद र रु ५० जरिवाना गर्ने भनी २०६४ साल माघ १५ गते फैसला गरेको थियो ।

त्यसैगरी कीर्ते नागरिकता तथा राहदानी बनाएको आरोपमा जिप्रकाले २०६३ सालमा छुट्टै जाहेरी गरेको थियो । सो मुद्दामा अदालतले ११ महिना कैद तथा रु एक हजार जरिवाना गर्ने भनी २०६४ साल वैशाख १३ गते फैसला गरेको थियो । पाण्डेलाई दुवै मुद्दामा २०७६ साउन २८ गतेसम्म कैद तोकिएको छ ।

Loading...