एमबिबिएस पढ्न बंगलादेश पुर्याइएका २ सय विद्यार्थी अलपत्र

काठमाडौं, २६ भदाै । एमबिबिएस अध्ययन गर्न बंगलादेश गएका झन्डै दुई सय नेपाली विद्यार्थी अलपत्र परेका छन् । अलपत्र विद्यार्थीको उद्धारका लागि समन्वय गरिदिन भन्दै बंगलादेशस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखालाई पत्र पठाएको छ ।

नेपालबाट मेडिकल शिक्षा अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थीहरू बंगलादेश जाने गरेका छन् । नेपालमा एमबिबिएसको सिट कटौती भएको मौका छोपी विभिन्न कन्सल्टेन्सीले सिट संख्याभन्दा बढी विद्यार्थी पठाउँदा समस्या देखिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । ‘बंगलादेशमा कति विद्यार्थी अलपत्र परेका छन् भन्ने दूतावासले जानकारी दिएको छैन । विद्यार्थी सम्पर्कमा आउने क्रम जारी छ । अहिले प्राप्त जानकारीअनुसार दुई सयको हाराहारीमा एमबिबिएस अध्ययनका लागि गएका विद्यार्थी अलपत्र परेका छन्,’ काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने ।

बंगलादेशका ५० मेडिकल कलेजमा नेपाली विद्यार्थी

बंगलादेशका ५० वटा मेडिकल कलेजमा नेपाली विद्यार्थी भर्ना भएको मेडिकल काउन्सिलले जनाएको छ । ‘अहिले केही विद्यार्थी न्यायको माग गर्दै बंगलादेशको अदालतसम्म पुगेको जानकारी आएको छ । अलपत्र परेका विद्यार्थीबारे सम्बन्धित निकायसँग समन्वय गरेर चाँडै निर्णय लिनेछौँ,’ शर्माले भने ।

विभिन्न कन्सलटेन्सीले नेपालका मेडिकल कलेजको सिट संख्या घटेको फाइदा उठाउँदा विदेशमा विद्यार्थी अलपत्र परेको काउन्सिलले बताएको छ । ‘विद्यार्थी भर्ना हुने वेलामै मेडिकल काउन्सिलमा दर्ता हुनुपर्ने हो,’ डा. शर्माले भने, ‘तर, कलेजले विद्यार्थीलाई झुक्याएर अन्तिममा दर्ता गर्ने भन्दै राख्ने गरेको पाइयो । जसले गर्दा ठूलो रकम खर्च गरेर अध्ययन गरे पनि काउन्सिलले दर्ता नगर्दा विद्यार्थी समस्यामा परेका छन् ।’ बंगलादेशमा २३ वटा सरकारी कलेज र निजी मेडिकल कलेको संख्या ५४ वटा छन् ।

इन्टर्नसिप गर्नबाटै वञ्चित

हाल बंगलादेशको बिजिसी ट्रस्ट चिटगाउँमा अध्ययनरत नेपाली विद्यार्थीहरूले एमबिबिएस अध्ययन पूरा गरिसकेका छन् । तर, कलेजहरूले स्वीकृत सिटभन्दा बढी विद्यार्थी भर्ना गरेको पाइएपछि बंगलादेश मेडिकल काउन्सिलले दर्ता गर्न मानेको छैन । जसले गर्दा सयौँ विद्यार्थी अलपत्र परेको नेपाली दूतावासले जनाएको छ । ‘सिट संख्याभन्दा बढी विद्यार्थी भर्ना गरेका कारण नेपाली विद्यार्थीले बंगलादेश मेडिकल काउन्सिलमा दर्ता हुन पाएका छैनन्,’ दूतावासको पत्रमा भनिएको छ । जसले गर्दा उनीहरू इन्टर्नसिप गर्नबाट समेत वञ्चित भएका छन् । नयाँ शैक्षिक सत्र सुरु हुन लागेकाले बंगलादेशको शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल र कलेजहरूसँग छलफलमा जुटेको दूतावासले जनाएको छ । तोकेको सिटभन्दा बढी विद्यार्थी भर्ना गरेकोमा त्यस्ता विद्यार्थीलाई काउन्सिलले मान्यता दिँदैन ।

नक्कली पत्र देखाएर नेपाली विद्यार्थी बंगलादेश

दूतावासले बंगलादेश मेडिकल काउन्सिलबाट मान्यता नएका वा स्थगन भएका मेडिकल कलेजले अदालतबाट ‘स्टे अर्डर’ गराई पठन–पाठन गरेको पाइएको बताएको छ । नेपाली विद्यार्थी अलपत्र पर्ने क्रम बढेकाले यसबाट जोगिन आवश्यक देखिएको दूतावासको भनाइ छ । आर्थिक चलखेलका आधारमा कन्सलटेन्सीहरूले स्वीकृत नपाएका मेडिकल कलेजमा विद्यार्थी पठाउने गरेको पाइएको छ । ‘सम्बन्धन नै नदिएका कलेजले नक्कली पत्र देखाएर नेपाली विद्यार्थी लैजाने गरेको फेला परेको छ । त्यसैले धेरै कलेज मापदण्डअनुसार नभएकाले कलेजका विषयमा गहन अध्ययन गर्नु उपयुक्त देखिन्छ,’ दूतावासको पत्रमा उल्लेख छ ।

Loading...