मेसीको ह्याट्रिकसँगै बार्साले लालिगामा बर्सायो पाँच गोल

लियाेनल मेसीले बार्सिलाेनाका लागि उत्कृष्ट प्रदर्शन गरेका छन् । स्पेनिस ला लिगा अन्तगर्त शनिवार राती भएकाे खेलमा मेसीले ह्याट्रिक नै गरेका छन् ।

मेसीकाे ह्याट्रिकसँगै बार्सिलोनाले स्पानियोलमाथि ५-० काे फराकिलो गोलअन्तरकाे जित हात पारेकाे छ । पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा एक गोल थप्दै ह्याट्रिक पुरा गरेका हुन्।

घरेलु मैदान नेउक्याम्पमा भएको खेलमा २६ औं मिनेटमा गोल गर्दै मेस्सीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। डी बक्स नजिकैबाट विपक्षी खेलाडीलाई छलाउदै मेस्सीले गरेको प्रहार गोलमा परिणत भएको थियो। त्यसको ९ मिनेट पश्चात मेस्सीले अर्को गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए। जोली अल्भाको स्लाइड पासमा मेस्सीले पोस्ट नजिकैबाट दोस्रो गोल गरेका थिए।

पहिलो हाफमा २–० को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा पनि उत्कृष्ट लय कायमै राख्यो। ६७ औं मिनेटमा तेस्रो गोल गर्दै मेस्सीले ह्याट्रिक पूरा गरे। यस्तै ८७ औं मिनेटमा जेराड पिके तथा ९० औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाले ५–० को शानदार जित दर्ता गर्याे।

जितपछि शीर्ष स्थानको बार्सिलोनाको ३ खेलबाट ९ अंक भएको छ।

हेर्नुहाेस मेसीकाे उत्कृष्ट ह्याट्रिक

Loading...