अपहरित व्यवसायी राजकुमार मृत अवस्थामा फेला

सल्यान, १६ असार । केही दिन अघि दाङकाे तुल्सीपुरबाट अपहरणमा परेका व्यवसायी राजकुमार श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् । अज्ञात समूहले उनलार्इ केही दिन अघि अपहरण गरेर वेपत्ता पारेकाे थियाे ।

व्यापारी श्रेष्ठकाे शव अाज सल्यानकाे छत्रेश्वरी गाउपालिका वडा नम्बर ४ को रैजेखुटिमा भेटिएकाे हाे । साेही ठाउँमा नेपाल टेलिकमकाे टावर पनि रहेकाे छ । झिम्पे टावरका नामले चर्चित उक्त क्षेत्रमा घना जंगल पनि रहेकाे छ । झिम्पे टावरदेखि केही तल उनकाे शव भेटिएपछि प्रहरीकाे एक टाेली घटनास्थलतर्फ लागेकाे छ ।

सल्यानका प्रहरी प्रमुख डीएसपी श्याम खत्रीले दाङ तुलसीपुरका व्यवसायी श्रेष्ठको लास कुहिएको अवस्थामा फेला परेको जानकारी दिएका छन । उनले घटनाका बारेमा थप अरु केही जानकारी नभएकाे र अनुसन्धान जारी रहेकाे बताए ।

श्रेष्ठ गत जेठ २६ गतेदेखि हराइरहेका थिए । यसअघि प्रहरीले व्यवसायी श्रेष्ठको बारेमा सूचना दिने व्यक्तिलाई १ लाख पुरस्कार दिने घोषणा गरेको थियो ।

प्रहरीले घटनामा संलग्न भएको हुन सक्ने भन्दै २ जना व्यक्तिहरुको स्केच तयार गरी सार्वजनिक गरेको थियो । घटनामा महिलाको प्रयोग भएको हुन सक्ने प्रहरीले जनाएको थियो । तर, अहिलेसम्म घटनासँग सम्बन्धित कोही व्यक्ति पनि पक्राउ पर्न सकेका छैनन् ।

प्रहरीले व्यवसायी श्रेष्ठको अवस्था पत्ता लगाउन राप्ती अञ्चल प्रहरी प्रमुख ज्ञानविक्रम शाहको संयोजकत्वमा दाङ जिल्ला प्रहरी प्रमुख, बाँके जिल्ला प्रहरी प्रमुख र सल्यान जिल्ला प्रहरी प्रमुख सदस्य रहेको अनुसन्धान समिति समेत बनाएको छ ।

Loading...