मधेशका उम्मेदवार चुलो बनाइदिने र मच्छड भगाइदिने आश्वासन दिएर भोट माग्दै

राजविराज, २५ भदाै । भीमराज यादव फोरम नेपालका तर्फबाट राजविराज नगरपालिकाको मेयर पदका उम्मेदवार हुन् । लामो समय सद्भावनामा बिताएका यादव मधेस आन्दोलनमा पनि निकै सक्रिय थिए । यद्यपि ‘जनताले तपाईंलाई नै किन भोट हाल्छन् ?’ भनी सोधिएको जिज्ञासामा उनी न त मधेसवादकै कुरा गर्छन्, न त मधेसवादी राष्ट्रिय अजेन्डाको ।

‘यो नगरको स्वरूप फेर्न सक्ने खाका मसँग छ’, यादवले भने, ‘नगरको समग्र विकास र नगरवासीले भोग्नुपरेका समस्या समाधान गर्न सक्ने उम्मेदवार भएकाले जनताको भोट मलाई नै आउँछन् ।’ बाढीपछि नगर क्षेत्रका बासिन्दा लामखुट्टेको समस्याले निकै प्रताडित रहेको भन्दै उनले लामखुट्टे नियन्त्रण गर्नुका साथै छाडा सुँगुरलगायतका पशुचौपाया नियन्त्रण आफ्नो प्रमुख मुद्दा रहेको बताए ।

‘नगर क्षेत्रभित्रका सडकको अवस्था हेर्नुस्, एउटा पनि हिँड्ने लायक छैन’, यादवले भने, ‘सडक बनाउने मात्र मेरो अजेन्डा हैन, व्यवस्थित सडक, व्यवस्थित पार्किङ लगायतका मुद्दालाई पनि मैले प्राथमिकतामा राखेको छु ।’

सुखराम यादव एमालेका तर्फबाट राजविराज नगरपालिकाको मेयर उम्मेदवार हुन् । यसअघि उनी फोरम नेपालको तराई÷मधेस प्रादेशिक समतिका सदस्य थिए । यादव पनि आफ्नो अजेन्डामा राष्ट्रिय मुद्दाका कुरा गर्दैनन् । आममतदाताले तपाईंलाई नै किन रोज्ने ? भन्ने जिज्ञासामा उनले स्थानीय मुद्दा प्राथमिकतामा रहेको बताउँछन् ।

‘अहिले पनि गरिबी र विपन्नताका कारण नगर क्षेत्रका बहुसंख्यक महिला परम्परागत चुलोमा खाना पकाउन बाध्य छन्, जसको धुवाँले उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर पार्छ’, उनी भन्छन्, ‘मैले आफ्नो प्रतिबद्धतापत्र यस्ता सानासाना तर अत्यन्तै महŒवपूर्ण समस्या समाधानका उपाय राखेको छु ।’

नगर क्षेत्रमा फ्रि वाइफाई, एक परिवार एक बैंकखाता, छोरीको जन्म भएमा सम्मानस्वरूप नवजात शिशु तथा आमालाई २ हजार ५ रुपैयाँको पुरस्कार जस्ता प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

अनिस अन्सारी माओवादी केन्द्रबाट राजविराज नगरपालिकाका मेयर उम्मेदवार हुन् । अन्सारी गजेन्द्रनारायण सिंहद्वारा स्थापित नेपाल सद्भावना पार्टीका संस्थापक सदस्य हुन् । पहिलो संविधानसभा चुनावमा उनी तराईमधेस लोकतान्त्रिक पार्टीको टिकटमा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उठेका थिए । अन्सारी दोस्रो संविधानसभा चुनावमा सद्भावनाबाटै उम्मेदवार भए तर माओवादी उम्मेदवार उमेश यादवले उनलाई हराए ।

आफूले जनताकै चाहनाअनुरूप राजनीतिक निर्णाय लिने गरेको अन्सारीको भनाइ छ । ‘त्यतिबेला पनि जनताकै चाहनाअनुरूप चुनाव लडियो, अहिले पनि जनताकै आह्वानमा मेयर पदमा उठेको छु’, उनले भने, ‘नगर क्षेत्रका दलित, मुस्लिम, विपन्नले भोग्दै आएका समस्या समाधानका लागि मेरो उम्मेदवारी हो ।’ सडक, बिजुली, खानेपानी, ढल निकासलगायतका समस्या आफ्नो मुख्य चुनावी अजेन्डा रहेको अन्सारी बताउँछन् ।

फोरम लोकतान्त्रिकका तर्फबाट मेयर पदका उम्मेदवार शैलेश चौधरी राजविराज नगरपालिकाका पूर्वमेयर पनि हुन् ।

‘म त प्रतिबद्धतासहित चुनाव जितेर ती प्रतिबद्धता पूरासमेत गरिसकेको व्यक्ति हुँ’, उनले भने, ‘अत्यन्त सीमित स्रोतसाधनका बीच म मेयर हुँदा पाँच वर्षमा गरेका काम अझै पनि जनतालाई सम्झना छ ।’ अव्यवस्थित पार्किङको समस्या, ढल निकास, सडक निर्माणलगायतका मुद्दा आफ्नो प्राथमिकता रहेको चौधरीको भनाइ छ ।

राष्ट्रिय जनता पार्टीका उम्मेदवार शम्भु यादवको राजनीतिक अनुभव पनि कम छैन । लामो समयदेखि मधेसी पार्टीसँग आबद्ध रहेका उनी युवा व्यवसायीसमेत हुन् । स्थानीय तहको निर्वाचन रहेकाले स्थानीय अजेन्डा नै आफ्नो प्राथमिकता रहेको उनी बताउँछन् । ‘युवा छु, कुनै पदमा बसेको छैन, कुनै दाग लागेको छैन, परिवर्तनका लागि सधै सक्रिय रहेको हुँ’, उनले भने, ‘समस्यै समस्याले घेरेको राजविराजलाई पुरानो पहिचानमा फर्काउने मुख्य अजेन्डाका साथ म चुनावी मैदानमा आएको हुँ ।’

ध्रुव देव कांग्रेसका तर्फबाट राजविराज नगरपालिकाको मेयर पदका उम्मेदवार हुन् । छात्र जीवनदेखि नै कांग्रेससँग आबद्ध देव कांग्रेस सप्तरीभित्र प्रभावशाली युवा अनुहार हुन् । यद्यपि उनको छवि एनजिओकर्मीका रूपमा बढी परिचित छन् । सप्तरीमा निकै नाम चलेको ‘सेभ द सप्तरी’ का उनी संस्थापक हुन् ।

‘राजविराजको विकासको योजनाबद्ध खाका नै मसँग छ । म आममतदाताको घरघरमा गई ती योजना प्रस्तुत गरिरहेको छु’, उनले भने, ‘मतदाता निकै उत्साहित छन्, मेरो पक्षमा राम्रो जनलहर छ ।’

तीनजना स्वतन्त्र सहित राजविराज नगरपालिकाको मेयर पदका लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

तीन प्रमुख दल तथा राजपा, फोरम नेपाल र लोकतान्त्रिक फोरमका अतिरिक्त राप्रपा प्रजातान्त्रिकबाट शैलेन्द्रकुमार साह, मालेबाट मोहीनारायण मोची, राप्रपाबाट अमितकुमार यादव र नेकपा संयुक्तको चुनाव चिह्नमा नयाँ शक्तिवाट मीना ठाकुरले राजविराज नगरपालिकामो मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी रामअशिष शर्मा, कामेश्वरलाल देव र लक्ष्मी चौधरीले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

Loading...