चिनियाँ कम्युनिस्ट पार्टीको कांग्रेसमा माओका नातीलार्इ किन बोलाइएन ?

काठमाडाैं । आउँदो अक्टोबरको मध्यमा चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ कंग्रेसको तयारी चलिरहेको छ। तर सो पार्टी कंग्रेसमा माओ त्से तुङका एक नातिलाई भने निम्त्याइएको छैन।

जनमुक्ति सेनाका मेजर जनरल माओ सिन्यु माओ त्से तुङका नाति हुन्। तर चीनको सबैभन्दा महत्वपूर्ण राजनीतिक घटना मानिने पार्टी कंग्रेसमा उनलाई निम्त्याइएन। माओ सिन्यु मात्र होइन, पिएलएमा रहेका अरु पाँच प्रभावशाली परिवारका सदस्यलाई पनि कंग्रेसमा आमन्त्रण गरिएको छैन।

हरेक पाँच वर्षमा हुने यस्ता पार्टी कंग्रेसले भावी नेतृत्वलाई प्लेटफर्म दिने विश्वास गरिन्छ। त्यसैले त्यहाँ ननिम्त्याइनुले भविष्यमा उनीहरुको बढुवा नहुने संकेत गर्ने बताइन्छ।

सन् २००९ मा मेजर जनरलमा बढुवा भएका माओ सिन्यु माओ आनचिन्यिङका छोरा हुन्। उनी अध्यक्ष माओ र पत्नी याङ काइहुइका दोस्रो पुत्र थिए।

बुधबार पार्टी कंग्रेसमा सहभागी हुने २३०० प्रतिनिधिमध्ये पिएलएका ३०० प्रतिनिधिको नाम सार्वजनिक गरिएको छ। त्यहाँ ननिम्त्याइएका प्रभावशाली परिवारका सदस्यहरुमा माओ सिन्युबाहेक पूर्व राष्ट्रपति ल्यु शाओचीका छोरा जनरल ल्यु युआन, पार्टीका पूर्व महासचिव हु याओवाङका ज्वाइँ एड्मिरल ल्यु साओजियाङ, पूर्व जनरल झाङ झेनका छोरा जनरल झाङ हेयाङ र पूर्व राष्ट्रपति ली सियानिनका ज्वाइँ ल्यु येझु रहेका छन्।

यसरी माओ परिवारकै सदस्यलाई पार्टी कंग्रेसमा ननिम्त्याइनुलाई पार्टीभित्र पारिवारिक जालोलाई टुटाउने राष्ट्रपति सी जिनपिङको प्रयास हुनसक्ने विश्लेषण गरिएको छ। केहीले भने सीले प्रायोजित रुपले उनीहरुलाई दबाउन खोजेको नभइ नेतृत्वका लागि योग्य नदेखेको वा विश्वास नगरेको मात्रै हुनसक्ने विश्लेषण गरेका छन्।

Loading...