८८ किलाे सुन तस्करीका मुख्य नाइके पाँचतारे हाेटेलबाट एकाएक गायव

काडमाडौं, २२ भदाै । प्रहरीले आइतबार बिहान ८८ किलो अवैध सुन नियन्त्रणमा लिइरहँदा चिनियाँ तस्कर वान विई मिङ पाँचेतारे होटल र्‍याडिसनमा मस्त निद्रामा थिए । इतिहासमै सबैभन्दा ठूलो परिमाणमा सुन बरामद भएको खबरले बजार तातिसक्दा बिहान १० बजे उनी आरामपूर्वक होटलबाट बाहिरिँदै फरार भए ।

होटल स्रोतका अनुसार बाहिरैबाट रुम बुक गरी साँझ अबेर होटल आएका उनले आफ्नो पासपोर्ट देखाएनन् । बरु नेपाली लाइसेन्स राख्न खोजे । रिसेप्सनिस्टले लाइसेन्सले नहुने भनेपछि उनले आफ्नो पासपोर्ट अध्यागमन विभागमा छाडेको हुनाले सोमबार बिहान चेक आउट हुनेबेलासम्म ल्याउने भनी आश्वस्त गराए । हालसालै जागिर खाएकी रिसेप्सनिस्टले त्यो कुरा पत्याइन् । तर, भोलिपल्ट बिहान निस्केको उनी फर्केनन् । बरु केही घन्टामा प्रहरीको टोली आएर सोधखोज गर्न थाल्यो र सुन तस्करले आफू जोगिन होटल प्रयोग गरेको थाहा लाग्यो ।

‘यो घटना अनपेक्षित हो । तत्काल मिटिङ राखेर हामी स्टाफलाई यस्ता घटना हुन सक्नेप्रति सचेत गरायौं,’ होटलका एक कर्मचारीले भने ।महानगरीय प्रहरी महाशाखाले र्‍याडिसनमै भेटिएको चिनियाँ तस्करको नेपाली लाइसेन्सका आधारमा तत्काल अनुसन्धान अगाडि बढायो । उक्त लाइसेन्स यातायात व्यवस्था विभागबाट जारी भएको देखिए पनि त्यसका लागि चिनियाँले आफ्नो पासपोर्टको प्रतिलिपिसमेत नराखेको (वा गायव पारिएको) पत्ता लागेको छ ।

विभागको रेकर्डमा सवारी अनुमतिपत्र वाहकको उल्लिखित नामबाहेक ‘ठेगाना चीन, हुलिया आँखा चिम्सा’ भन्ने मात्र उल्लेख भएको प्रहरीको भनाइ छ । विदेशी नागरिकको पासपोर्टको प्रतिलिपिसमेत नराखी कसरी लाइसेन्स दिइयो भन्नेमा अहिलेसम्म अनुसन्धान सुरु हुन सकेको छैन ।

उच्च प्रहरी स्रोतका अनुसार मिङको एउटा मोबाइल नम्बर होटलबाट बाहिरिँदासम्म चालू नै थियो । प्रहरीको बुझाइमा उनले आफूलाई सुरक्षित राख्नका लागि कसैबाट निरन्तर जानकारी लिइराख्न एउटा मोबाइल नम्बरलाई त्यतिखेरसम्म चालु राखेका हुन् । उनले तत्काल निरन्तर सम्पर्कमा रहने आफ्नै स्वामित्वमा रहेको ठमेलस्थित काठमाडौं वान होटलका कर्मचारीलाई फेसबुक, विच्याटबाट समेत अनफ्रेन्ड गरे ।

उनी होटलबाट निस्केको केहीबरेमै आफूहरू पुग्दा अनुसन्धान टोलीलाई थकथक भएको एक जानकार स्रोतले भन्यो ।मिङले आफू होटलमा सुतेर पत्नी याङ वेन विङलाई चाहिँ कहाँ राखेका थिए भन्ने खुलेको छैन । दुवै फरारको खोजीमा प्रहरीले निरन्तर प्रयास गरेको छ । अनुसन्धानकर्ताले आशंकित नम्बरको कल रेकर्ड अध्ययनका साथै सम्भाव्य ठाउँमा निगरानी र तलासीको क्रम जारी राखेका छन् ।

यकिन तथ्य हात पार्न नसक्दा प्रहरीलाई अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको छ । साथै, ठूलो परिमाणमा सुन बरामद हुँदा जस लिने होड प्रहरीका विभिन्न निकायबीच चल्दा प्रवाहित सूचना बाझिएका छन् । सुराकदेखि बरामदसम्मको सम्पूर्ण प्रक्रियामा बाजी मारेको महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले अनुसन्धान गरिरहेको छ ।’अनुसन्धान जारी छ । निष्कर्षमा नपुगी केही भन्न सकिन्न,’ महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले भने ।

धेरै चलाख तस्कर

करिब ११ वर्षदेखि सपरिवार नेपाल बस्दै आएका तस्कर मिङले आफ्ना महत्वपूर्ण व्यक्तिगत जानकारी हमेसी नखुल्ने गरी गतिविधि गर्दै आएको पुष्टि भएको छ । लाइसेन्समा समेत उनले नाम फरक पारेको देखिएको छ । लाइसेन्स जारी गर्दा सहजै रकमको चलखेल हुने यातायात व्यवस्था विभागमा यस्तो लापर्वाही सम्भव हुनुमा अनुसन्धानकर्ता अचम्म मान्दैनन् ।

आइतबार साँझ साढे ८ बजे क्षेत्रपाटीमा सुन लोड गरिएको जिप राखेर मिङ एकैचोटि राति साढे ११ बजे पत्नी याङ वेन विङका साथ ठमेलको काठमाडांै वान होटल आएका थिए । उनी त्यही बीचमा र्‍याडिसनमा ‘चेक इन’ गरेका हुन् । उनकी पत्नी विङ काठमाडांै वान होटलबाट साढे नौ बजे बाहिरिएकी थिइन् । चिनियाँ दम्पतीले ३ वर्षदेखि उक्त होटल आफ्नै स्वामित्वमा सञ्चालन गर्दै आएको थियो । उनीहरूले क्षेत्रपाटीमा नयाँ होटल सञ्चालनको तरखर गर्दै थिए । जहाँ मिङले सुन लोड गरिएको जिप छाडेका थिए ।

काठमाडौं वान होटलमा प्राय: विङ बस्थिन् । जहाँ उनले ४ नेपाली कर्मचारीलाई अह्रनखटन गरेर व्यवस्थापन सम्हाल्थिन् । मिङचाहिँ आउने-जाने गर्थे । ‘हामीलाई साहु-साहुनीको यस्तो चर्तिकला होला भनेर अनुमानै थिएन । साहुनी त तरकारीमा ५ रुपैयाँ बढी पर्दा पनि दिनभर कराउँथिन्’, एक कर्मचारीले भने ।

एकदमै सामान्य किसिमको ११ कोठे होटलमा चिनियाँ पर्यटकका लागि सस्तोमा सुत्ने व्यवस्था थियो । यो होटलअघि उनीहरूले केही वर्ष ठमेलको नरसिंह चोकमै केरलिन रेस्टुरेन्ट चलाएका थिए ।

महाशाखाका अधिकृत केही दिनमै सुन तस्करी र्‍याकेटको केही तह पर्दाफास हुनसक्ने बताउँछन् । तर, सुन तस्करीको उपल्लो ‘लेयर’मा बस्नेले अनुसन्धानलाई प्रभावित तुल्याउन प्रयास गर्नसक्ने उनीहरूको आशंका छ ।

राजधानीमा ८ महिनाको अवधिमा झन्डै १ सय ३६ किलो तस्करीको सुन बरामद भएको छ । सुन तस्करीमा प्राय: भरिया मात्र समातिने र उपल्लो तहका कारोबारीचाहिँ जोगिइरहने अवस्था देखिन्छ । अन्नपूर्ण पाेष्टबाट

Loading...