‘फुटसल’ मा आकर्षण बढ्दो

बागलुङ, २० भदौ । धौलागिरि क्षेत्रमै पहिलो पटक शुरु भएको फुटबलको सानो रुप ‘फुटसल’ खेलले यहाँका युवादेखि वयस्कसम्मलाई आकर्षित गरेको छ ।

कोठाभित्र (इनडोर) खेलिने फुटसल सञ्चालन गरेको रसआवर फुटसल प्रालिले छोटो समयमै सफलता प्राप्त गरेको छ । खेल कौशल सिक्नेदेखि, व्यायाम र मनोरञ्जनका लागि फुटसल खेल्नको संख्या दैनिक बढ्दो छ ।

फुटसलका सञ्चालक राजु केसीका अनुसार मासिक एकमुष्ट भुक्तानी गरेर खेल्नेको मात्रै सात समूह छ । पाँच जनाको समूहमा खेलिने फुटसलका लागि खेलाडीले मासिक ३० हजार बुझाउने गरेका छन् ।

“शुरु गरेको छ महिनामै राम्रो प्रतिक्रिया आएको छ, हामी उत्साहित छौँ” सञ्चालक केसीले भने । केसीसहित चार युवा मिलेर सवा करोड लगानीमा फुटसल सञ्चालनमा ल्याइएको हो । खेल मैदान, रेष्टुराँ, स्नुकर हाउसलगायत संरचना बनाउँदा लगानी थप बढेको सञ्चालकको भनाइ छ ।

“हालसम्म संरचना र पूर्वाधार तयारीमा लगानी ग¥यौँ, अब नाफा लिने समय आउँदैछ”, केसीले भने । फुटसलले खेलकुदको प्रवद्र्धन, शारीरिक व्यायाम, मनोरञ्जन र खेल पर्यटनका क्षेत्रमा टेवा पु¥याएको छ । खेलाडीका अतिरिक्त बिहान, बेलुकाका समयमा फुटसल हेर्न जाने दर्शकको संख्या पनि उत्तिकै छ । बागलुङ नगरपालिका–३ गुठीमा सञ्चालित फुटसल बिहान ५ बजेदेखि राति १० बजेसम्म खुला हुने गरेको छ ।

बिहान र बेलुकीको मुख्य समयमा फुटसल मैदान अति व्यस्त हुने गरेको अर्का सञ्चालक राजेश श्रेष्ठले बताए । “प्राइम टाइममा विभिन्न समूहले महिनाभरिलाई समय किन्ने गरेका छन्”, श्रेष्ठले भने “नयाँ आउने खेलाडीलाई समय व्यवस्थान गर्न गाह्रो भएको छ ।” बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुकी ५ देखि ९ बजेसम्म एक समूहले एक हजार ५०० र दिउँसो एक हजार तिर्नुपर्ने व्यवस्था छ । नियमित फुटसल खेल्ने अधिवक्ता राम शर्माले आफू स्वास्थ्यका निम्ति खेलिरहेको प्रतिक्रिया दिए ।

“इनडोर भएकोले जुनसुकै समय र मौसममा खेल्न सकिन्छ”, उनले भने “फुटसलले खेलकुदप्रति आकर्षण थपेको छ ।” फुटसल खेल्नेमा पेशाकर्मी र व्यवसायीको संख्या बढी छ । नयाँ पुस्ताका युवा पनि फुटसलप्रति उत्तिकै आकर्षित छन् । फुटसलले खुला घाँसे मैदानमा खेलिने फुटबल खेलमा राम्रो सहयोग पु¥याउने खेलाडी बताउँछन् । केसी, श्रेष्ठ, सज्जन आचार्य, र प्रदीप शर्माले मासिक ३३ हजार भाडा दिने गरी दुई रोपनी जग्गा लिएर फुटसल मैदान बनाएका हुन् ।

नेपालमा सन् २०११ देखि भित्रिएको फुटसललाई व्यावसायिक रुपमा सञ्चालन गर्ने क्रम बढेको छ । विशेष गरी शहरी युवामाझ लोकप्रिय बनेको फुटसलले हालै मात्र औपचारिक मान्यता पाएको छ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटसल लिग शुरु गरेपछि आधिकारिकता पूरा भएको हो । फुटसल खेलको औपचारिक शुरुआत सन् १९३० को विश्वकप फुटबलपछि उरुग्वेबाट शुरु भएको हो । चालीस मिनेट खेलाइने फुटसलका अधिकांश नियम फुटबलसँग मिल्छन् ।

Loading...