पर्यटकीय सिजन सुरु । ७५ प्रतिशत होटल बुकिङ । ९ लाख पर्यटक नेपाल अाउने

काठमाडौँ, २० भदौ । पर्यटकीय याम शुरु भएसँगै यहाँका होटल भरिभराउ हुन थालेका छन्। होटल एशोसिएसन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन्। अघिल्लो वर्ष यही याममा ६० प्रतिशत मात्र बुकिङ भएकामा कतिपय रद्द पनि भएका थिए।

होटल बुकिङको अवस्था र अहिलेसम्मको पर्यटक आगमनलाई आँकलन गर्दा सन् २०१७ मा नौ लाखभन्दा बढी पर्यटक भित्रने अवस्था रहेको हानका महासचिव विनायक शाहले बताए। जुन अहिलेसम्मकै बढी हो। सन् २०१२ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए।

यस याममा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन्। यसमा पनि सबैभन्दा बढी भारतका पर्यटक छन्। नेपालमा चाडपर्व शुरु भएकाले विदेशी नागरिकता लिएका धेरै नेपाली, कूटनीतिक तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका व्यक्ति नेपाल भ्रमणमा आउने हुँदा पर्यटकको संख्या वृद्धि हुने अनुमान छ। दशैँ तिहारमा वर्षेनी धेरै नेपाली आउने गर्छन्।

आगामी अक्टोबर ११ मा काठमाडौँमा गैरआवासीय नेपाली सङ्घको ‘ग्लोवल मिटिङ’ भएकाले धेरै पर्यटक आउने महासचिव शाहको ठम्याइ छ। नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१७ को पहिलो छ महिना र त्यसपछिको अवधिमा विभिन्न मुलुकबाट झण्डै छ लाख पर्यटक नेपाल आएका छन्। छ महिनाको मात्रै विवरण हेर्दा चार लाख ६० हजार ३०४ पर्यटक आएका छन्। सन् २०१६ को छ महिनाको अवधिमा तीन लाख ५९ हजार ६७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

दुई छिमेकी मुलुक भारत र चीनको तुलना गर्दा सन् २०१७ को छ महिनाको अवधिमा भारतबाट मात्रै ९३ हजार पर्यटक भित्रिएका छन् जबकि सन् २०१६ को सोही अवधिमा ६४ हजार मात्र भारतीय पर्यटक आएका थिए। त्यस्तै चीनबाट सन् २०१७ को छ महिनामा ५४ हजार पर्यटक आएका छन् सन् २०१६ को सोही अवधिमा ३९ हजारको हाराहारीमा चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

सन् २०१७ को छ महिनामा अमेरिकाबाट ४१ हजार ६९१, बेलायतबाट २७ हजार ४४४ र श्रीलंकाबाट १९ हजार ७२९ पर्यटक आएका छन्। उल्लेखित विवरण हेर्दा सन् २०१७ मा पर्यटकको संख्या हालसम्मकै बढी हुने सहजै अनुमान गर्न सकिन्छ। अहिले पर्यटकीय याम र चाडपर्व पनि शुरु भएकाले विदेशी पर्यटकको चहलपहल बाक्लिएको छ। हानको विवरणअनुसार अहिले नेपालमा करिब ४५ हजार बेड छन्। नयाँ चार हजार बेड थपिँदैछन्।

Loading...