बाढी प्रभावितलार्इ गल्कोट समाज जापानले स्वास्थ्य शिविरसँगै गर्यो राहत वितरण

काठमाडौं । गल्कोट समाज जापानले तराईका बाढी प्रभावित क्षेत्रमा राहत वितरण गरेको छ । साथै समाजले केही ठाउँमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ ।

रोजगारी तथा अध्ययनको शिलशिलामा बाग्लुङको गल्कोटबाट जापानमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था गल्कोट समाजले पाँच लाखबराबरको राहत सामाग्री वितरण गरेको हो । साथै समाजले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ९५० जनाले लाभ लिएको बताइएको छ । समाजले डाक्टर रविन्द्र पाण्डे सहितको टोलीलाई लिएर तराईका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

गल्कोट समाजका उपाध्यक्ष भवानी पन्तले यो राहत रकम समाजले आन्तरिक पङ्क्तिबाट यो रकम सङ्कलन गरिएको बताए । उनले गल्कोट स्पोर्ट्स क्लब जापान र बलेवा सेवा समाज जापानको सहयोगमा यो रकम संकलन गरिएको जानकारी दिए । जसमा करिब १०० जनाले सहयोग गरेको बताइएको छ । समाजले यसअघि पनि आन्तरिक आर्थिक स्रोत जुटाएर राहत वितरण गरेको थियो ।

लोहारपट्टी तथा भमौराको बीचमा रहेको अति बिपन्न मुसहर बस्तीमा जनस्वास्थ्य बिशेषज्ञ डा। रविन्द्र पाण्डेको टोलीले गत शुक्रबार ४५० जना र शनिबार ४७० जना बिरामीको स्वास्थ्य परिक्षण गरेको थियो । सो क्रममा निःशुल्क औषधि वितरण गर्नुका साथै सरसफाईका सामान तथा पोषणको प्याकेज पनि वितरण गरिएको थियो ।

सो क्रममा ज्वरो, झाडावान्ता, छालाको रोग लगायतका सरुवा रोग तथा कुपोषणको कारण ९०५ भन्दा बढी मुसहरहरु रोगले पिडित रहेको डा। रवीन्द्र पाण्डेले बताएका छन् । उनले जापानमा रहेका गल्कोट समाजका सहयोगी हातहरुले औषधि, पोषण लगायतका साधनहरु उपलब्ध गराएकोमा आभार पनि प्रकट गरेका छन् ।

गल्कोट समाज जापानका अधय्क्ष नर ब। थापाले समाजको यस अभियानमा सहभागी भै सहयोग गर्ने सम्पूर्ण सहयोगदातालाई धन्यवाद दिएका छन् ।

गल्कोट समाज जापानले यस्ता सामाजिक कामहरुमा सक्रिय सहभागिता जनाउँदै आएको छ । विदेशमा नेपालीलाई समस्या पर्दाहोस् वा नेपालमा आपत विपत पर्दा सक्रियरुपमा समाजले सहभागिता जनाउँदै आएको अध्यक्ष थापाले बताए । मानवीय सेवा र सामाजिक विकास भन्ने मूल नारा बोकेको समाजले स्थापनाकालदेखि नै थुप्रै उदाहरणीय काम गरिसकेको छ ।

 

Loading...