विद्यार्थीको आन्दोलनपछि मध्यपश्चिम विश्वविद्यालयको विवादास्पद सम्बन्धन रद्द

सुर्खेत, १६ भदाै । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा सम्बन्धन लिने तयारीमा रहेको भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजले सम्बन्धन रद्द गर्ने भएको छ । कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले बिहीबार एमयूका उपकूलपतिलाई पत्र लेख्दै कलेज र नेपाल इन्जिनियरिङ कलेज प्रालिबीचको सम्बन्धन प्रकृया खोरज गर्न आग्रह गरेका हुन् ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले एमयूसँग अपारदर्शीरुपमा सम्बन्धन लिन थालेको भन्दै विद्यार्थीहरु आन्दोलित थिए । एमयूको साउन २९ गते बसेको कार्यकारी परिषद्को बैठकले उक्त कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो ।

हतारहतार गरी ‘विवादास्पद’ कलेजलाई सम्बन्धन दिन नहुने भन्दै यहाँ पनि विद्यार्थीहरु आन्दोलित छन् । सामाजिक संस्थाबाट सञ्चालित नेपाल इन्जिनियरिङ कलेजलाई बेचेर केही सञ्चालकले यही बैशाख २५ गते नेपाल इन्जिनियरिङ कलेज प्रालि नामक कम्पनी दर्ता गरेपछि उक्त कलेज विवादमा तानिएको हो ।

सामाजिक संस्थाको सम्पति व्यक्तिको नाममा खरिद बिक्री गर्न नपाइने हुँदा कलेज सञ्चालकले मिल्दोजुल्दो नाम राखेर फर्जी कम्पनी दर्ता गरेका थिए । बिहीबार अध्यक्ष न्यौपानेले कम्पनी खारेज गर्न कम्पनी रजिष्टार कार्यालयसमक्ष निवेदन दिएका छन् । उनले विहीबार प्रहरी नियन्त्रणमा छँदै कलेजको अध्यक्ष पदबाट राजीनामा दिए ।

मध्यपश्चिम क्षेत्रका सामुदायिकलाई सम्बन्धन नदिएर राजधानीका ‘विवादास्पद’ कलेजलाई सम्बन्धन दिन थालेको भन्दै यहाँ सुरुदेखि नै विद्यार्थी, प्राध्यापक, नागरिक अगुवाहरु आन्दोलित छन् । सामुदायिक कलेजलाई सम्बन्धनको पहिलो प्राथमिकतामा नराखिएको, केन्द्रीय क्याम्पस पूर्वाधार सम्पन्न नहुँदै र सञ्चालित कार्यक्रमहरुको पाठ्यक्रम नबन्दै राजधानीका निजी कलेजलाई सम्बन्धन दिएकोमा असन्तुष्टि बढेको हो ।

एमयूले स्थापनाको ८ वर्षसम्म एउटा पनि आंगिक क्याम्पस सञ्चालन गर्न सकेको छैन् । केन्द्रीय क्याम्पसमै इन्जिनियरिङ संकायले स्नातकोत्तरका कार्यक्रम सञ्चालन गर्न सकेको छैन् । केन्द्रीय क्याम्पसकै मानविकी संकायमा स्नातक पढेकाहरु स्नातकोत्तरका लागि राजधानी जानुपर्ने बाध्यता छ ।

Loading...