पहिरोमा परी २६ जनाको मृत्यु

एजेन्सी । चीनको दक्षिणपश्चिमी गुईझाउ प्रान्तमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेहरूको संख्या बिहीबार सम्म २६ पुगेको छ ।

पहिरोमा परी हराईरहेका मध्ये नौ जना अहिलेसम्म पनि भेटिएका छैनन भने आठ जना घाइते भएका छन् । उद्धारकर्ताहरूले हराइरहेकाको खोजी कार्य अझै पनि जारी राखेको स्थानीय अधिकारीले बताएका छन् ।

पहिरो गएदेखि अहिलेसम्म स्थानीय प्रहरी, अग्नि नियन्त्रक, स्वास्थ्यकर्मी र स्थानीय सरकारी कर्मचारी गरी २८ हजार जना खोजी तथा उद्धारमा खटिएका थिए । उनीहरूसँगै ११० वटा आपतकालीन सवारी साधन, आठ वटा ड्रोन पनि खोजी तथा उद्धारमा परिचालन भएको उद्धार केन्द्रीय कार्यालयले जनाएको छ ।

अर्थ र नागरिक मामिला मन्त्रालयले संयुक्त रूपमा पहिरो प्रभावित क्षेत्रका लागि सहायता कोष छुट्याएर राहत वितरण गरेका छन् । पहिरोले ८० घरका २८९ जना प्रभावित भएका छन् ।

स्थानीय समयअनुसार सोमबार बिहान १०.४० मा आएको पहिरोले छ लाख क्युबिक मिटर ढुङ्गा माटो बगाएको सरकारी अधिकारीले सिन्ह्वालाई जानकारी दिएका छन् । गत हप्तादेखि चीनका विभिन्न ठाँउमा ठूलो मात्रामा वर्षा भएको छ । सामान्यतया यस्ता वर्षा हुँदा चीनका ग्रामीण र पहाडी क्षेत्रहरूमा बेलाबेलामा पहिरो जाने गरेको छ ।

Loading...