नेपालमा यूट्यूब र जिमेल ढिलो खुल्नुको कारण यस्तो पो रहेछ

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानको विगत केही हप्तादेखि नेपालमा गुगलको यूट्यूब, जिमेल लगायतका एप्लिकेसन्सहरु ढिलो खुल्ने गरेको भन्दै धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु आएको जनाएको छ । आइस्पानले त्यसप्रति आफ्नो गम्भीर ध्यानकार्षण भएको जनाएको छ ।

गुगलले विगत चार बर्षदेखि आफ्नो एप्लिकेसनहरु (जिमेल र युट्यूब) को क्षमता सुधारका लागि नेपालको स्थानीय इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सर्भर राखेको थियो । तर, अहिले आएर गुगलले नेपालका आईएसपी कम्पनीहरुबाट अलग भएर नेपालमा आफ्नै नयाँ सर्भर राख्ने तयारी गरेको छ । गुगलको यस निर्णयका कारण उसका एपहरु ढिलो खुलेको बताइन्छ । विगत चार वर्षदेखि यहाँका कम्पनीहरुमा राखिरहेको सर्भरलाई केही महिनादेखि गुगलले स्तरउन्नोति नगरेपछि जीमेल र युट्यूव ढिला चलेको आइस्पानले जनाएको छ ।

गुगलले स्थानीय आइएसपीबाट अलग भएर आफ्नै सर्भरमा जान खोज्दा यस्तो समस्या बढी देखिएको हो । यस्तो इन्टरनेट बढी प्रयोग हुने समय (बेलुका) मा बढी देखिने गरेको छ । बेलुकी धेरैले युट्यूब, जिमेल आदि चलाउने भएका कारण पनि यस्तो समस्या आउने गरेको बताइन्छ ।

यसबारे नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले गुगललाई बारम्बार गरेको अनुरोध गरेको तर पनि गुगलले आफ्नो स्तरउन्नोति नगरेको आइस्पानले जनाएको छ । अर्काेतर्फ गुगलले आफ्नो सर्भर राख्न पनि ढिलाइ गरिरहेको छ ।

जबसम्म गुगलले आफ्नो सर्भरको स्तरन्नोति गर्दैन, तबसम्म नेपालका इन्टरनेट प्रयोगकर्ताहरुले गुगलका एप्लिकेसनहरु ढिलो खुल्ने समस्या जारी रहने आइस्पानले जनाएको छ ।

आइस्पानले गुगल व्यवस्थापनको व्यवास्ताका कारण प्रयोगकर्ताहरुले समस्या झेल्नु परेको भन्दै क्षमा मागेको छ । साथै आइस्पानले गुगललाई छिटोभन्दा छिटो समस्या समाधान गर्न आग्रह गरेको छ ।

Loading...