अखिल क्रान्तिकारीको मतगणना सुरु । उपमहासचिवसहित १ सय केन्द्रीय सदस्य निर्विरोध

काठमाडौं, १५ भदाै । कीर्तिपुरमा सम्पन्न नेकपा (माअाेवादी केन्द्र) काे विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को निर्वाचनको बिहीबार मतगणना सुरु भएको छ । २१ औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएकाे निर्वाचनमा अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ उम्मेदवार बनेका थिए ।

अहिलेसम्म एक उपमहासचिवसहित करिव १ सय केन्द्रीय सदस्य भने निर्विराेध निर्वाचित भएका छन् । ३३ पदाधिकारीमध्ये छात्रातर्फ एक उपमहासचिव पदमा आशा तमु निर्विरोध भएकी हुन् । अन्य १ सयजति केन्द्रीय सदस्य सहमतिका आधारमा निर्विरोध चयन भएका हुन् ।

अहिले दुई ठाउँमा मतगणना भइरहेको बताइएकाे छ । प्रदेश ७ बाट सुरु गरिएको मतगणनाको अन्तिम परिणाम शुक्रबार साँझसम्म आइसक्ने अनुमान गरिएकाे छ । बुधबार रातिदेखि नै मतगणना हुने भनिए पनि पानी पर्ने र विद्युतीय समस्या आएकोले मतगणना आज मात्रै सुरु गरिएको हो ।

बुधबार भएको मतदानमा २ हजार २२ मतदातामध्ये १ हजार ७ सय ४ मत खसेको छ । सम्मेलन लम्बिएपछि स्नातक तह प्रथम वर्षका विद्यार्थीहरु परीक्षा दिन भन्दै घर गएपछि कम मत झरेको प्रवक्ता बस्नेतले बताए । स्नातक तहको परीक्षा भदौ १२ गतेदेखि सुरु भएको हो ।

पदाधिकारीसहित २ सय ४३ जनाको केन्द्रीय समितिअन्तर्गत अब करिब १ सय १० जना चयन हुने छन् । अध्यक्षमा प्रत्यासी अनिल शर्मा गृहमन्त्री जनार्दन शर्माका भाइ हुन् भने रञ्जित तामाङ पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुन निकट मानिन्छन् ।

त्यस्तै चार खुला उपाध्यक्षका लागि तामाङको प्यानलबाट सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, विजय गौतम र ध्रुव ओली मैदानमा छन् भने शर्मा प्यानलमा दीपक देवकोटा, विजय हमाल, दिनेश रेग्मी र उद्धव भट्टराई छन् ।

महासचिवका लागि रञ्जित प्यानलबाट खेम सिंह र अनिलतर्फबाट उत्तम अधिकारी प्रतिस्पर्धामा छन् । जनजाति उपाध्यक्षका लागि तामाङको प्यानलबाट दिपेश पुन र शर्मातर्फबाट सुनिता किराँती मैदानमा छन् । क्रान्तिकारीमा पहिलोपटक निर्वाचन भएको हो ।

Loading...