वलिउड अभिनेत्री प्रियंका चाेपडाले बनाइन नेपाली मुभी

काठमाडाैं । प्रियंका चोपडा बलिउडकी चर्चित अभिनेत्री हुन् । उनले वलिउडबाट फड्काे मारेर हलिउडकाे यात्रा तय गरिसकेकी छन् । तिनै प्रियंकाले एक नेपाली चलचित्र पनि बनाएकी छन् ।

प्रियंकाको कम्पनी पर्पल पेब्बलले पाहुना नामक नेपाली चलचित्र निर्माण गरेकाे हाे । नेपाली भाषामा तयार गरेकाे भए पनि याे चलचित्र भने भारतकै सिक्किम क्षेत्रकाे जनजीवनमा अाधारित छ । अहिले याे चलचित्र टोरन्टो फिल्म फेस्टिभलका लागि छनोट भएको छ । फिल्मको कान्समा फस्र्ट लुक सार्वजनिक गरिएको थियो । सेप्टेम्बर ७ बाट क्यानडामा सुरु हुन लागेको फिल्म फेस्टिभलमा फिल्मले स्क्रिनिङका लाागि आमन्त्रण पाएको हो ।

भारतका क्षेत्रीय भाषामा फिल्म बनाउने उद्देश्यसहित प्रियंकाले आमा मधु चोपडासँग मिलेर पर्पल पेब्बलको स्थापना गरेकी थिइन् । सोही कम्पनीले बनाएको मराठी भाषाको फिल्म ‘भेन्टिलेटर’ले केही समयअघि सम्पन्न राष्ट्रिय पुरस्कारमा तीन वटा अवार्ड जितेको थियो । ‘पाहुना’ सो कम्पनीले बनाएको पाँचौं फिल्म हो ।

फिल्म नेपालबाट भागेर सिक्किम जाने क्रममा बाबुआमासँग छुटेका तीन साहसिक केटाकेटीका कथामा आधारित छ । माओवादी युद्धका कारण सिक्किम छिर्ने क्रममा उनीहरु बाबुआमासँग छुट्टिन पुग्छन् ।

फिल्म स्क्रिनिङका लागि छानिएकोमा प्रियंकाले खुसी व्यक्त गरेकी छन् । ‘हाम्रा लागि यो गौरबको कुरा हो । निर्माताको रुपमा नयाँ प्रतिभालाई मौका दिनु र पर्दा पछाडिका कथालाई दुनियाँमा प्रस्तुत गर्न पाउँदा खुसी लाग्छ । पाहुनामा पनि नेपालका तीन बच्चाको रोचक यात्रा प्रस्तुत गरेका थियौं । कथाले राम्रो मञ्च पाएको छ,’ प्रियंकाले भनेकी छन् ।

नेपाली भाषामा बनेको फिल्मलाई पाखी ए टायरवालाले निर्देशन गरेका हुन् । फिल्ममा उत्तम प्रधान, इशिका गुरुङ, अनमोल लिम्बू, मञ्जु केसी, सुजय राई आदि कलाकारको अभिनय छ।

Loading...