दाेक्लामबाट भारतीय सेना पछि हट्याे । चिनियाँ सेनाले अब एक्लै गस्ती गर्ने

काठमाडाैं, १२ भदाै । लामाे समयदेखि विवाद चल्दै अाएकाे चीन र भारतीय सीमा क्षेत्र दाेक्लमबाट भारतीय सेना पछि हटेकाे छ । दाेक्लाम क्षेत्रमा भारतीय सेना चिनियाँ भूमीमा पुगेर गस्ती गर्न थालेपछि चीनले कडा अापती जनाउँदै अाएकाे थियाे । साथै साे क्षेत्रमा चीनले पनि अाफ्ना सेना पठाएपछि दैनिक क्षडप हुने गरेका थिए ।

दाेक्लामबाट भारतीय सेना पछि हटे पनि चीनले भने अाफ्नाे सेनाले गस्ती गरिरहने जनाएकाे छ । साे क्षेत्रमा दुई महिनाभन्दा लामो समयसम्म भारत र चिनियाँ सेना आमनेसामने थिए । चिनियाँ विदेश मन्त्रालयले भारतीय सेना पछि हटिसके पनि आफ्नो सेनाले त्यहाँ गस्ती गरिरहने जनाएकाे छ ।

वेइजिङमा साेमवार अायाेजित चिनियाँ विदेश मन्त्रालयकाे नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै विदेश मन्त्रालयकी प्रवक्ता हुआ छुन यिङले चिनियाँ सेनाले दोक्लममा गस्ती गरिरहने जानकारी दिएकी हुन् । अन्तरार्ष्ट्रिय समाचार संस्था रोयटर्सले चीनले दाेक्लाममा अाफ्नाे सेना अझै नहटाउने निर्णय गरेकाे जनाएकाे छ ।

यता भारतले भने दुबै देशका सेना दाेक्लाम क्षेत्रबाट पछि हट्ने सहमति भएकाे बताए । भारतीय विदेश मन्त्रालयले विवादित क्षेत्रबाट दुबै देशका सेना ‘शीघ्र पछि हट्ने’ सहमति भएको दावी गर्दै त्यसकाे प्रक्रिया अाफूहरुले सुरु गरेकाे जानकारी दिएकाे छ ।

यसअघि भारत र चीनबीच ब्रिक्स राष्ट्रको सम्मेलनअघि दोक्लम विवाद हल गर्ने सहमति भएको थियाे । यद्यपि त्यहाँबाट दुवै देशका सेना फिर्ता हुने वा भारतीय सेना मात्रै पछि हट्ने भन्ने कुरा स्पष्ट थिएन। दाेक्लाम लगायतका क्षेत्रमा दुर्इ देशका सेनाबीच विवाद बढ्दै गएकाे थियाे । विवाद कम गर्न दुर्इ देशबीच केही समययता कूटनीतिक वार्ता पनि चलिरहेको थियाे ।

अहिले दुर्इ देशका बीचमा सहमति भएकाे बताइए पनि त्यसकाे विस्तृत विवरण भने बाहिर अाउन सकेकाे छैन ।

Loading...