अध्यागमन, प्रहरी, नागरिक उड्डयन र एयरलाइन्सका कर्मचारी मानव तस्करको जालोमा

नक्कली भिसा समातिएपछि मात्र थाहा भयो अध्यागमनको जथाभावी ‘डिपार्चर स्टाम्प’

काठमाडौं, १३ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीको चरम लापरबाहीका कारण दिनहुँजसो गलत कागजात भएका व्यक्तिले प्रस्थान (डिपार्चर) अनुमति पाएको भेटिएको छ। अध्यागमनका कर्मचारीले असार ७ गते दुबई गएका एक नेपालीको भिसामा नागरिकता ‘भारतीय’ उल्लेख भए पनि प्रस्थान अनुमति दिए।

कामको सिलसिलामा दुबई जान लागेका नेपाली नागरिक मनोजकुमार साहको प्रवेशाज्ञामा गल्तीवश ‘भारतीय नागरिक’ उल्लेख भएको थियो । दुबईबाट भिसा आउँदा साहको राष्ट्रियता ‘भारतीय’ उल्लेख थियो । अध्यागमनका कर्मचारीले उनको भिसा र राहदानी नहेरी हचुवाको भरमा साहलाई प्रस्थान अनुमति दिएका थिए । दुबईले साहको भिसा जारी गर्दा गरेको गल्तीलाई अध्यागमनले नसच्याई साहलाई प्रस्थान अनुमति दियो । साहले भिसा लिने क्रममा आफ्नो राष्ट्रियता हेरेनन् । जब उनले अध्यागमनबाट प्रस्थान अनुमति पाए, त्यसबेला मात्र भिसामा आफ्नो राष्ट्रियतामा भारतीय भएको पत्तो पाए । लगत्तै एयर अरेबियामा आफ्नो समस्या राखे र सच्चाएपछि मात्र दुबई गए। ‘नेपाली राहदानीमा राष्ट्रियता भारतीय भएको भिसा लिएर गएको भए साहलाई दुबई विमानस्थलबाटै फर्काइन्थ्यो,’ अध्यागमनका एक अधिकृतले भने।

अध्यागमन कर्मचारीले साहको भिसा जाँचक्रममा रोक्नुपथ्र्यो तर सहजै जान दिए । साहलाई मात्र होइन, अध्यागमनका कर्मचारीले अन्य यात्रुलाई समेत जथाभावी प्रस्थान अनुमति दिने गरेका छन् । केही दिनअघि एक भारतीय दम्पतीले प्रयोग गरेको राहदानी र क्यानाडाको प्रवेशाज्ञासमेत नक्कली भएकालाई प्रस्थान अनुमति दिइएको थियो । विमानस्थल अध्यागमनले ती भारतीय दम्पतीले प्रयोग गरेको भारतीय राहदानी मेसिनले रिड गरेको भन्दै प्रस्थान अनुमति दिएका हुन् । काठमाडौं विमानस्थलबाट उडे पनि ती भारतीय दम्पतीलाई चीनको ग्वान्जाउ विमानस्थलले राहदानी र भिसा नक्कली भएको भन्दै फिर्ता (इन्ट्री रिफ्युज) गरेको थियो । ती भारतीय दम्पती अहिले अध्यागमन विभागको हिरासतमा छन् । अध्यागमनका महानिर्देशक गंगाराम गेलालले जथाभावी प्रस्थान अनुमति दिने कर्मचारीलाई छानबिन गर्ने भने पनि अहिलेसम्म गरेका छैनन् । गल्ती गर्ने कर्मचारीलाई कारबाही नहुँदा विमानस्थल अध्यागमनमा लापरबाही झनै बढेको छ।

गृह मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘विमानस्थलमा अध्यागमन, प्रहरी, नागरिक उड्डयन र एयरलाइन्सका कर्मचारी मानव तस्करको जालोमा परेका छन् । दिनहुँ सेटिङमा मानव तस्करी भइरहेको छ ।ु टर्किस एयरबाट शनिबार रुस गएकी चितवनकी शान्ति शर्मालाई मस्को अध्यागमनले केही घन्टा नियन्त्रणमा लिएर फिर्ता (इन्ट्री रिफ्युज) गरिदिएको छ। अध्यागमन कर्मचारीले शर्माको भिसाको मिति नहेरी हचुवाको भरमा प्रस्थान अनुमति दियो ।

शर्मा सोमबार बिहान टर्किस एयरको नियमित उडानबाट काठमाडौं ओर्लिन् । भिसाको अवधि सुरु हुनुअघिकै मितिमा मस्को गएकाले उनलाई इन्ट्री रिफ्युज गरिएको हो । उनी सोमबार मात्र रुस जान पाउनेमा दुई दिनअघि शनिबार नै मस्को पुगिन् र त्यहाँको अध्यागमनले फर्काइदियो। उनको भिसा सिंगल इन्ट्री भएकाले उनी फेरि जान पाउँदिनन् । अध्यागमन विभागले दिनहुँ उजुरी आउन थालेपछि आइतबार सरोकारवालासँग छलफल गरेको छ ।

विभागले विमानस्थल अध्यागमन कार्यालय, एयरलाइन्स कम्पनीका कर्मचारी र प्रहरीले समेत सेटिङ गरेर मान्छे पठाउने गरेको उजुरी आएपछि आइतबार ती निकायका प्रमुखसँग छलफल गरेको हो। बैठकले अनलाइन फिसा एप्लिकेसन अनिवार्य गराउने, विमानस्थलमा छिर्ने पास भएका व्यक्तिमाथि निगरानी बढाउने, सेटिङमा दोहोरो बोर्डिङ पास दिने एयरलाइन्स कम्पनीलाई कारबाही गर्ने, विमानस्थलका संवेदनशील स्थानमा अवाञ्छित व्यक्तिको आवागमनलाई निगरानी गर्नेलगायत निर्णय गरेको छ।

बैठकमा अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलाल, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलिया, विमानस्थल प्रहरी प्रमुख पंकज श्रेष्ठ, विमानस्थल उड्डयन कार्यालयका प्रमुख देवानन्द उपाध्याय र विभिन्न एयरलान्इसका प्रतिनिधिको उपस्थिति थियो।

Loading...