एनअारएनद्वारा ४ हजार ५ सय बाढीपीडितलाई राहत वितरण

सप्तरी, ११ भदाै । गैरआवासीय नेपाली संघले २ साता अघि आएको बाढीबाट प्रभावित करिव ४ हजार ५ सय परिवारलाई राहत वितरण गरेकाे छ । गृहमन्त्रालयकाे समन्वयमा एनअारएनएले आपतकालीन राहत सामग्री वितरण गरेको हाे ।

बाढीबाट सबैभन्दा बढी प्रभावित भएकाे जिल्ला सप्तरीमा पुगेर एनअारएनएकाे टिमले राहत वितरण गरेकाे हाे । सप्तरीको बोदेबसाईन, तिरहुत, तिलाठी, कोहिलारी बसाईन र कोमध्यपुरा गाउँका झण्डै ४ हजार पाँचसय बाढीप्रभावित परिवारलाई राहत बितरण गरेको संघले जनाएकाे छ ।

राहत वितरणमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले, उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी, सल्लाहकार त्रिलोक गुरुङसहितकाे टाेली सप्तरी पुगेकाे थियाे । टाेलीले त्रिपाल, झुल तथा केही दिनका लागि पुग्ने खाद्य सामाग्रीसहितको प्याकेज बनाएर वितरण गरेको हो । उक्त प्याकेजमा २५ किलो चामल, दाल, नुन, तेलजस्ता अत्यावश्यक खाद्य सामाग्री पनि समावेश गरिएकाे छ । टाेलीमा अमेरिका क्षेत्रीय संयोजक सोनाम लामा र सहसंयोजक एसी शेर्पा, मध्यपूर्व सहसंयोजक धर्मराज गिरी, आईसीसी सदस्य जमुना गुरुङ, महिला संयोजक सपिला राजभण्डारी, आइसीसी सदस्य जयप्रकाश गुरुङ, एमआइटी ग्रुपका म्यानेजर सुरेश चित्रकार, एनआरएन युकेका राजेन्द्र भट्ट पनि सहभागी थिए । एनअारएनएकाे टाेली नेपालमा रहेका गैरआवासीय नेपाली स्वयंसेवकहरु लिएर सप्तरी पुगेकाे थियाे। उक्त कार्यकाे संयाेजन एनआरएनए बहराइनका पूर्व अध्यक्ष श्याम तामाङ र मध्यपूर्व संयोजक धर्मराज गिरीले गरेकाे बताइएकाे छ । 

राहत वितरणमा सप्तरी पुगेका एनअारएनएका अध्यक्ष शेष घलेले याे अापतकालीन राहत मात्र भएकाे बताए । उनले भने, ‘बाढी र डुवानबाट जुन मात्रामा क्षति भएको छ, त्यसको तुलनामा हामीले दिएको सहयोग पर्याप्त छैन । बाढी प्रभावितले गासबासको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर गैरआवासीय नेपाली संघले आपतकालिन राहत मात्रै बितरण गरेको हो, उहाँहरुलाई पुनःस्थापित गर्न नेपाल सरकारले नै काम गर्नुपर्छ।’

एनअारएनए टाेलीले राहत बितरणसँगै विभिन्न स्थानमा स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ। आइसीसी सदस्य झुमादेवी लिम्बुको संयोजनमा चिकित्सक तथा नर्सहरु सहभागी स्वास्थ्य शिविरले ती क्षेत्रका एक हजार पाँच सय भन्दा धेरै बिरामीलाई प्राथमिक उपचार गरेको थियो।

 

Loading...