भरतपुर अस्पतालमा मिर्गौलाको डायलायसिस सेवा सुरु

चितवन, ११ भदौ । भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।

आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थपलियाले चितवन मेडिकल कलेजमा तीन पटक डायलासिस गरिएको बताउँदै आठ उपकरणमध्ये पाँच बिग्रिएपछि पालो नपाएर सरकारी अस्पताल आएको बताए । अस्पतालमा १२ उपकरण रहेकाले एकै पटक १२ जनाको मिर्गौलाको डायलासिस गर्न सकिने छ ।

मरासिनीका अनुसार सेवाका लागि छ प्राविधिकले तालीम लिएर आइसकेका छन् । अन्य छ जना तालीममा नै छन् । शुरुमा दुई चरणमा २४ जनाको डायलासिस गरिने छ । थप प्राविधिक तालिम सकेर आएपछि दैनिक ३६ जनाको डायलासिस गरिने उहाँले बताए ।

ती उपकरण सरकारले खरिद गरिदिएको हो भने अन्य व्यवस्थापन अस्पताल विकास समितिले गरेको हो । समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बिरामीले दुःख पाएकाले यसअघिका स्वास्थ्यमन्त्री गगनकुमार थापासँग विशेष आग्रह गरेर बजेट निकासा गरी काम अघि बढाइएको बताए ।

जिल्लाका विभिन्न अस्पतालमा थोरै बिरामीको मात्र डायलायसिस हुने गरेको छ । राजभण्डारीका अनुसार चितवनसहित छिमेकी जिल्लाका बिरामीलाई पनि सेवा दिन सकिने छ । भरतपुरका दुई मेडिकल कलेजमा १४ र रत्ननगरको मिर्गौलारोग केन्द्रमा छ मात्र उपकरण छन् ।

निजी क्षेत्रका मेडिकल कलेजमा उपकरण बिग्रिरहने समस्याका कारण बिरामीले सास्ती व्यहोर्दैैै आएका बेला सरकारी अस्पतालमा नयाँ उपकरणसहित डायलायसिस सेवा शुरु भएपछि बिरामी लाभान्वित हुने भएका छन् ।

Loading...