सदभावनाका नेता साहले अपराधबाटै १६ वर्षमा साढे २९ करोड कमाएकाे खुलासा

काठमाडाैं, ११ भदाै । नेपाल सद्भावना पार्टीका सांसद सञ्जयकुमार साहले आपराधिक गतिविधिबाट वर्षमा औसत २ करोड रुपैयाँ कमाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानले देखाएको छ। विभागका अनुसार उनले १६ वर्षमा साढे २९ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी तवरले आर्जन गरेका छन्।

विभागको २ वर्ष लामो अनुसन्धान प्रतिवेदन अनुसार साहले हत्या, अपहरण, फिरौती, जर्बस्ती असुली लगायत अपराधजन्य गतिविधिबाट आर्जन गरेको चलअचल गरी २९ करोड ४७ लाख १४ हजार रुपैयाँ बराबरको सम्पत्ति १२ जनाका नाममा राखेको भेटिएको छ ।

साहविरुद्ध जनकपुर बम विस्फोट र सञ्चार उद्यमी अरुण सिंघानिया हत्या अभियोगको अनुसन्धानसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनी तथा आफन्तका नाममा भएको चलअचल सम्पत्ति समेत छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई २ वर्षअघि जिम्मा दिएको थियो।

विभागको निर्देशनबमोजिम छानबिनको जिम्मा पाएको ब्यूरोले २ वर्ष लगाएर केहीदिन अघिमात्रै अनुसन्धान प्रतिवेदनलाई पूर्णता दिएको छ। प्रतिवेदनअनुसार साह तथा उनका परिवार र आफन्त गरी १ दर्जन व्यक्तिलाई प्रतिवादी बनाउँदै २९ करोड ४७ लाख बिगो र सोहीबराबर जरिवाना र हदैसम्मको कैद मागदावी गरिएको रायसहितको प्रतिवेदन तयार पारिएको छ।

गत वर्ष नै अनुसन्धान प्रतिवेदन पूरा भए पनि सत्ता समीकरण र अभियुक्तलाई जोगाउने गरी मन्त्रीसहितका शक्तिकेन्द्रले दवाव दिदा ब्यूरोले प्रतिवेदनलाई पूर्णता दिन सकेको थिएन। २०६९ वैशाख १८ मा जनकपुरको रामनन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको बम विस्फोट र २०६६ फागुन १७ गते सञ्चार उद्यमी सिंघानिया हत्याका मुख्य योजनाकारसमेत हुन्।

यी दुवै कसुरमा अदालतले साहलाई तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार देखाएपछि उनी अहिले सदरखोर डिल्लीबजारमा पुर्पक्षका क्रममा छन् ।विभाग स्रोतका अनुसार अभियुक्त साहले आफूसहित पत्नी रंगिलादेवी, बाबु साधु साह सुडी, आमा दुलारीदेवी, बहिनी बबिता पञ्जियार तथा साथीहरू निलम सिंह, मनोजकुमार सिंह र ओमप्रकाश यादवका नाममा गैरकानुनी सम्पत्ति राखेका छन्।

सम्पत्ति रोक्का गरी छानविनको दायरामा आएका साहका बहिनीहरू अनिताकुमारी र देवन्तीकुमारी साह, मुन्निकुमारी महतो, वविताकुमारी पञ्जियार, ससुरा लक्ष्मण साह, मामा विक्रम पञ्जियार, मामाको छोरा सुजीत पञ्जियार र अजित पञ्जियार, नरेशकुमार यादव, दीपेन्द्र ठाकुर, निभाकुमारी ठाकुर, नवीनकुमार यादव, रामविनोद यादव, गुलावदेवी महतो धिरज महतो र राजकुमार पुर्वेलाई आरोपबाट उन्मुक्ति दिइएको छ।

यससँगै अब विभागलाई अभियुक्त १२ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्ने बाटो खुलेको छ। ‘ब्यूरोको रायसहितको प्रतिवेदन अध्ययन गरेर हामी विशेष अदालतमा छिट्टै मुद्दा दायर गर्नेछौं,’ विभाग स्रोतले भन्यो, ‘यस्तै किसिमका अन्य कसुरमा पनि हामी क्रमशः आवश्यक निर्णय लिने छौं।’

२०६७ देखि २०६९ सलको ३ वर्षमामात्रै साह तथा उनीआवद्ध फर्मका नाममा करिव ३ करोड रुपैयाँ मूल्य बराबरका ११ वटा सवारी खरिद गरिएको भेटिएको छ। साहले काठमाडौं, ललितपुरलगायत १ दर्जन जिल्लामा ५७ कित्ता जमिन जोडेको देखिन्छ।

जसको मूल्य प्रतिस्पर्धात्मक बजारभाउ अनुसार ५० करोडभन्दा बढी पर्छ। घरजग्गारजमीन, सवारीलगायत सम्पत्तिबाहेक डेढ दर्जनबढी व्यापारिक फर्म आफन्त÷नातेदार तथा विश्वासपात्रका नामबाट उनले सञ्चालन गर्दै आएको ब्यूरोको प्रतिवेदनमा उल्लेख छ। सञ्जयका वावु साधु नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको रासन ठेक्कामा पनि संलग्न थिए।

ध्रुवतारा कन्स्ट्रक्सन, मिथिला मनी ट्रान्स्फर, वीरेन्द्र इन्स्टिच्युट अफ मेडिकल कलेज एन्ड डेन्टल टेक्नोलोजी, सारस इन्भेष्टमेन्ट प्राली, गंगासागर ग्रुप अफ इन्स्टिच्युसन, मिथिला आयल स्टोर्स, कर्णाली विल्डर्स लगायत १९ व्यावसायिक फर्ममा साहले अपराधबाट आर्जित सम्पत्ति लगानी गरेको देखिएको छ।

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा जनकपुरबाट प्रत्यक्ष निर्वाचित उनी जनकपुर बम विस्फोटमा संलग्न भएसँगै २०७१ वैशाख ३० गते सांसदबाट निलम्वनमा परेका थिए। ३९ वर्षीय साहको आर्थिक अवस्था २०५४ अघिसम्म सामान्य थियो ।

त्यसपछि भने राजमार्गमा ढाट राखेर रकम असुल्नेदेखि अपहरण तथा फिरौती असुल हुँदै हत्या र जबर्जस्ती असुलीमा उनको संलग्नता बढ्दै गएको अनुसन्धान अधिकारीहरू बताउँछन्।

साहमाथि २०५४ सालमा आफ्नै सवारी चालकको हत्या अभियोग लागे पनि धनुषा जिल्ला अदालतबाट सफाइ पाएका थिए। २०५४ सम्म साह तथा उनको परिवारका नाममा १४ कठ्ठा मात्रै जग्गा थियो। तर २०७० मा आइपुग्दा उनको सम्पत्ति पत्याउनै नसक्नेगरी वृद्धि भएको देखिन्छ।

व्यूरोको अनुसनधान प्रतिवेदनअनुसार साहले आफ्नो नाममा १ करोड ८० लाख ८६ हजार रुपैयाँको जग्गाजमिन राखेका साहले पत्नी रंगिलाका नाममा ५ करोड ४१ लाख, वावु साधु साहका नाममा ८ करोड ४४ लाख, आमा दुलारीदेवीका नाममा ३ करोड ५२ लाख, साथी मनोज सिंह, ओमप्रकाश यादव र निलम सिंहका नाममा करिव डेढ करोड तथा बहिनी वविता पञ्जियारका नाममा ४८ लाख ३५ हजार रुपैयाँ बराबरको जग्गा खरिद गरेको देखिन्छ।

विभागको निर्देशनपछि ब्यूरोले २९ जनाको सम्पत्ति रोक्का गरी अनुसन्धान अघि बढाएकोमा बाँकी १७ जनाको अपराधमा संलग्नता नदेखेपछि सफाइ दिएको छ।

Loading...