कांग्रेसको नेतृत्व आफ्नै परिवारमा फर्काउन गोप्य सल्लाहमा कोइराला परिवार

काठमाडौं, ११ भदौ । कांग्रेसको ७१ वर्षे इतिहासमा ४९ वर्ष कोइराला परिवारको नेतृत्व रह्यो। १३ वटा महाधिवेशनबाट कोइराला परिवारका चार नेताले नेतृत्व गरे। बिपीले २५ वर्ष,मातृकाले ४ वर्ष,गिरिजाप्रसादले १४ वर्ष र सुशील कोइरालाले ६ वर्ष कांग्रेसको नेतृत्व गरे। कोइराला परिवारकै वरिपरि कांग्रेसको राजनीति घुम्यो।

कोइराला परिवारबाहिर सुवर्णशमशेरले २ वर्ष र कृष्णप्रसाद भट्टराईले एक पूर्ण कार्यकाल र कार्यबाहकसहित १९ वर्ष कांग्रेस चलाए। तर, भट्टराई नेतृत्वको कांग्रेस पनि कोइरालाको पकडभन्दा बाहिर गएन।

१३औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवाले जितेपछि भने कांग्रेस कोइराला परिवारको पकडभन्दा बाहिर पुगेको छ। पदाधिकारी, केन्द्रीय समिति, संसदीय दलदेखि जिल्ला कार्यसमितिसम्म देउवाकै वर्चस्व छ।

कार्यकर्तासँगको भेटघाट र देश दौडाहामा शेखर सबैभन्दा अगाडि छन्। सुजातालाई पनि गिरिजापुत्री हुनुको फाइदा छ। तीन नेताबीचको सहमतिअनुसार एकजना अघि बढ्नेमा उनीहरू सहमत छन्। तर,अहिले नै नेतृत्वमा को अघि बढ्ने भन्नेमा प्रस्ट भइसकेका छैनन्।

‘उहाँहरूलाई पार्टीको चिन्ता छ। एकढिक्का हुँदै जानका लागि भेटघाट गर्ने र खाना खाएर एकताको सन्देश दिनुभएको हो,’कोइरालानिकट स्रोत भन्छ,‘उहाँहरूबीचको छलफलमा नेतृत्वमा विवाद नगरी १४औँ महाधिवेशनससम्म मिलेर जाने समझदारी भएको छ।’

भेटमा शशांकले जसले नेतृत्व गरे पनि आपत्ति नहुने बताएका थिए। राजनीतिक रूपमा बढी समझ शेखरसँग रहेको भन्दै नेतृत्वको विषयमा मिलाउन सकिने उनले बताएका थिए। सुजाताले पनि आफ्नो स्वास्थ्यका कारण नेतृत्वमा दाबी नरहने संकेत दिएकी थिइन्।

देउवाले कांग्रेसको कमान्ड सम्हालेको डेढ वर्ष भएको छ। छोटो अवधिमै कोइराला परिवारका शशांक, शेखर र सुजाता देउवाप्रति असन्तुष्ट बनेका छन्। सामान्य अवस्थामा एक–अर्काकोमा सँगै नजाने, नबस्ने र खानासमेत नखाने गरेका उनीहरूले ४ साउनमा संयुक्त बैठक गरे।

महामन्त्री शशांकको टोखास्थित घरमा बिहानको खानासहितको छलफलपछि उनीहरूले सामूहिक तस्बिर सामाजिक सञ्जालबाट बाहिर ल्याए। छलफल देउवाको डेढवर्षे नेतृत्वबारे समीक्षा र १४औँ महाधिवेशनमा कसरी जाने भन्ने पारिवारिक सल्लाहमा केन्द्रित थियो। आगामी महाधिवेशनको नेतृत्वसम्मको खुला कुराकानी नभए पनि कोइराला परिवारले आफूहरू एकजुट भएको स्पष्ट सन्देश भने दिएको थियो।

‘संविधान संशोधनलाई अहिले फ्लोरमा लगेर टुंग्याइयो। तर, तीन–चार महिनाअघि नै किन यो प्रक्रिया अपनाइएन रु कांग्रेस कमजोर हुन थालेको आभास भएको छ। हरेक विषयमा ढिलाइ गर्दै जाँदा राम्रो हुन्न,’ डा. शशांकले भने, ‘हामीले राम्रा काम पनि गरेका छौँ। तर, राम्रा काम जनतामा लान सकेनौँ। केही नराम्रा काम ग¥यौँ। यसको नजिता निर्वाचनमा भोग्यौँ। डिआइजी प्रकरण, महाअभियोग प्रकरण, राजदूतका विषयमा पार्टीको पोजिसनले राम्रो सन्देश गएन। प्रजातन्त्रलाई बलियो बनाउने कुरामा हामीले ध्यान दिएनौँ। यसैले हामी कांग्रेसलाई बलियो बनाउनुपर्छ भन्दै एकजुट भएका हौँ। यसमा सबैको साथ चाहिन्छ।’

देउवाको पार्टी सञ्चालनप्रति महामन्त्री शशांक र सुजाताले खुलेर विरोध गरेका छैनन्। तर, शेखरले विधि, प्रक्रिया र पद्धतिको विषय उठाउँदै आएका छन्। काम गर्ने शैली र कुनै पनि विषयलाई अड्काएर राख्न हुँदैन भन्ने विषयमा सभापति देउवा र महामन्त्री शशांकको बुझाइ उस्तैउस्तै रहेको पाइन्छ। तर, पार्टीमा पकड जमाउने विषयमा भने यी दुईबीच आ–आफ्नै प्रतिस्पर्धा छ।

शुक्रबार आफ्ना कुरा बाहिर ल्याउन नपाएका यी तीन नेता एक हप्ताभित्रै पुनः छलफल गर्ने तयारीमा छन्। ‘उहाँहरूले शुक्रबार केही बोल्नुभएन । तर, एक हप्ताभित्रै फेरि छलफल गर्ने तयारी गर्नुभएको छ,’ शशांकका स्वकीय सचिव तिवारीले भने।

Loading...