वर्षदिनमा १० हजार दुर्घटना । २ हजार नागरिकले गुमाए ज्यान

काठमाडाैं, ११ भदाै । एक वर्षमा देशभर १० हजार दुर्घटना भएका छन्। जसमा २ हजारभन्दा बढीको ज्यान गएको छ। नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष ०७३–७४ मा १० हजार १ सय ७८ दुर्घटना भए। ०७२–७३ मा १० हजार १३ दुर्घटना भएका थिए।

चालकलाई अनुशासनमा राख्न नसक्दा धेरै दुर्घटना हुने गरेका छन्। फितलो कारबाहीका कारण चालकले लापरबाही गर्ने गरेको पाइएको छ। गत वर्ष ७ हजार ४ सय ८७ दुर्घटना चालकको लापरबाहीले भएका थिए। प्रहरीका अनुसार गत वर्ष १ हजार ३ सय ९१ तीव्र गति, ३ सय ७३ यात्रुको गल्ती,२ सय १३ ओभरटेक,२ सय ४९ यान्त्रिक गडबढी,३३ ओभरलोड,२ सय ८८ मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा तथा एक सय ४० वटा दुर्घटना अन्य कारणले भएका छन्।

दुर्घटनाबाट औसतमा दैनिक ६ देखि ७ जनाको मृत्यु हुने गरेको प्रहरी तथ्यांक छ। आर्थिक वर्ष ०७३-७४ मा २ हजार ३ सय ८४ जनाले ज्यान गुमाएका छन्। अघिल्लो वर्ष २ हजार ६ जनाको मृत्यु भएको थियो। त्यस्तै, आव ०७१(७२ मा दुई हजार चारको ज्यान गयो। गत वर्ष दुर्घटनामा ४ हजार २५० गम्भीर घाइते भए भने ८ हजार २ सय ९० सामान्य घाइते भएका थिए।

काभ्रे दुर्घटनालगत्तै ट्राफिक प्रहरीले देशभर क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधन रोकेर यात्रु झार्दै जरिवाना गराएको थियो। तर, त्यो शृंखला एक महिनाभन्दा धेरै चल्न सकेन। यातायात व्यवसायीको दबाबमा ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग पछि हट्यो। अहिले देशभर क्षमताभन्दा धेरै यात्रु बोकेर सार्वजनिक यातायात जोखिमपूर्ण सडकहरूमा सञ्चालन भइरहेका छन्।

प्रहरी प्रवक्ता डिआइजी पुष्कर कार्की दुर्घटना न्यूनीकरणका लागि पहल भइरहेको बताउँछन्। कतिपय पहाडी जिल्लामा ट्राफिक प्रहरीको उपस्थिति नभएकाले नियमन र कारबाही प्रभावकारी हुन नसकेको उनको भनाइ छ।

Loading...