एक सय वर्षपछि मगर बस्तीमा फर्कियो सोरठी

पर्वत, ८ भदौ । मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेको बेला पर्वतको बाँसखर्कमा सय वर्षपछि सोरठी नाच्न थालिएको छ । अरू गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले सय वर्षपछि फेरि नाच्न शुरु गरिएको हो ।

मगर समुदायका विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेला पर्वमा सोरठी नृत्य नाचिन्छ । सोरठी नाच्ने बूढापाका सकिएपछि बाँसखर्कमा एक शताब्दी पहिलेदेखि सोरठी गाउन छाडिएको थियो । तर पुन मगरको कुल देवता करवाकेलीको पूजा गर्ने समयमा अरू गाउँमा सोरठी नाचेको देखेपछि यहाँ पनि शुरु भएको हो । गत वर्ष म्याग्दीको राम्चेबाट प्रशिक्षक झिकाएर एक महिनासम्म तालीम लिएपछि यहाँ सोरठी शुरु भएको छ ।

सोरठी नृत्य सिकेपछि अहिले विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि मेला र उत्सवमा यसको प्रदर्शन गर्न थालिएको छ । सोरठी देखाउन थालेपछि मगर जाति भएको पहिचान दिलाउन सकेको देउराली सोरठी समूह बाँसखर्कका अध्यक्ष डिलबहादुर पाइजा पुनले बताए । आफ्नो बाजेको पालामा मात्रै सोरठी चलेको तर बाबुको पालादेखि हराए पनि अब यसलाई नयाँ पुस्तालाई सिकाएर निरन्तरता दिने उनको भनाइ छ ।

“एक वर्षअघि सम्म गाउँमा सोरठी चल्थ्यो भन्ने सुनियो तर हामीले देखेनौँ”, उनले भने, “अब युवाहरुलाई म आफै सिकाएर निरन्तरता दिन्छु”, सोरठी नृत्यमा पहिले सरस्वती जगाउने गरिन्छ भने भने त्यसपछि मादलको तालमा नाच्ने गरिन्छ । यो गीतभन्दा पनि मादलको तालमा नाच्ने नृत्य भएको बाँसखर्कका मगर अगुवा तथा सोरठी नृत्यका कलाकार समबहादुर तिलिजाले बताए ।

नृत्यका बेला देवताको नाम लिएर गाउने गरिन्छ । छोटो नृत्य पनि लगातार १ घण्टा र लामो नृत्य १२ घण्टासम्म चल्ने गरेको तिलिजाले बताए । नृत्यको शुरुवातमा सरस्वती जगाउने क्रममा सरस्वती जागेपछि महिला र पुरुष काम्दै नाच्ने गर्छन । मगर समुदायका व्यक्ति यति काम्ने कुरालाई सरस्वतीले बास गरेको विश्वास गर्छन् ।

हरेक जातजातिका संस्कृति हराउन थालेका बेला यसरी नै संरक्षण अभियान थाल्नुपर्ने तिलिजाको भनाइ छ । गाविसको आर्थिक सहयोगमा शुरु भएको सोरठी नृत्य संरक्षण अभियानलाई अन्य बस्तीमा पनि विस्तार गर्नुपर्ने धारणा उनको छ ।

Loading...