८ राज्यमन्त्री थपिए

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले मन्त्रिमण्डलमा ८ जना राज्यमन्त्री थप गरेका हुन् ।

 

प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आज विस्तार भएसँगै ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा ३ उपप्रधानमन्त्री, १९ मन्त्री र ८ राज्यमन्त्री भएका छन् ।

 

मोहम्मद जाकिर हुसेन (महिला, बालिकालिका तथा समाज कल्याण), रामसिंह यादव (स्वास्थ्य), श्यामकुमार श्रेष्ठ (गृह), शम्भुलाल श्रेष्ठ (ऊर्जा), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गुरुङ (सहरी विकास), गोमा कुँवर (पशुपक्षी विकास) र ओङ्दी शेर्पाले (सामान्य प्रशासन)राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । उनीहरु सबै नेकपा (माओवादी केन्द्र)को तर्फबाट प्रतिनिधित्व गर्छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री देउवाले उनीहरुलाई पद तथा गोपनीयताको सपथ गराए । सपथपछि नवनियुक्त राज्यमन्त्रीलाई माला र खादालगाएर प्रधानमन्त्री देउवाले स्वागत अभिवादन गरेका थिए ।

Loading...