बाढीका कारण प्राधिकरणको दुई अर्बभन्दा बढीको क्षति

काठमाडौँ, २९ साउन । अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।

प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती संरचनाको क्षति करिब रु दुई अर्बको हाराहारीमा हुन सक्ने देखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज ऊर्जा मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा भने, “प्राधिकरणको संरचनामा अर्बौंको क्षति भएको छ । हामी अनुसन्धानकै क्रममा छाँै । थप क्षतिको विवरण भने अध्ययनपछि नै थाहा हुनेछ ।”

अविरल वर्षाका कारण पूर्वी तथा मध्य तराईको सम्पूर्ण विद्युत् सेवा कटौती हुन पुगेको छ । यस्तै भरतपुर सबस्टेसनअन्तर्गतको सेवासमेत कटौती हुन पुगेको प्राधिकरणले जनाएको छ । दुर्घटना कम होस् भन्नेतर्फ विशेष सावधानी अपनाएर विद्युत् लाइनपूर्ण रुपमा कटौती गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

दुहवी सबस्टेसन पानीमा, दर्जनौँ टावर समस्यामा

बाढी तथा पानी जम्दा दुहवी सबस्टेसन, दमक सबस्टेसन, अनारमनी सबस्टेसन पूर्ण रुपमा डुबेको छ । सबस्टेसनका सम्पूर्ण उपकरण तथा सञ्चालन प्रणालीसमेत समस्या आएको छ । यही साउन २७ गते बिहानदेखि ती सबस्टेसन पूर्णरुपमा बन्द भएको प्राधिकरणले जानकारी दिएको छ ।
यस्तै, दमक गोदाक खण्डको १३२ केभी प्रसारण लाइनअन्तर्गत चुलाचुलीमा रहेको टावर नं १७ बाढीको कारण ढलेको छ । हेटाँैडा सबस्टेसनअन्तर्गतको हेटौँडा सिमेन्टनजिक रहेको ६६ केभी टावर पल्टिन लागेकाले उक्त औद्योगिक फिडर पूर्ण रुपमा बन्द रहेको छ । नेपाली सेनाको सहयोगमा उक्त टावरको सुरक्षाको उपाय अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङले बताए ।

चन्द्रनिगाहापुर पथलैया १३२ केभी, ढल्केबर चपुर १३२ केभी, बालाजु त्रिशूली र रक्सौल परवानीपुर १३२ केभीको भुलहीमा बाढीले दुईवटा टावरको फेदमा समस्या पैदा गरेको छ ।

तराईका सम्पूर्ण फिडरमा समस्या

प्राधिकरणका अनुसार लहान सबस्टेसनअन्तर्गत रुपनी र स्थानीय फिडरबाहेक सम्पूर्ण ३३ केभी तथा ११ केभी बन्द रहेको छ । सो फिडरको ३६ मेगावाट मागमध्ये दुई मेगावाट मात्रै खपत भएको छ ।

ढल्केबर सबस्टेसनअन्तर्गत जनकपुर फिडरबाहेक सम्पूर्ण फिडर बन्द रहेका कारण एक मेगावाट मात्रै विद्युत् खपत हुन सकेको छ । सो फिडरमा कुल ३५ मेगावाट विद्युत् माग हुने गरेको थियो ।

चपुर सबस्टेसनअन्तर्गत हरसाहा ३३ केभी तथा स्थानीय फिडर चार्ज भएको छ । गौर, हरिपुर तथा निजगढ ३३ केभी प्रसारण लाइनमा समस्या पैदा भएका कारण ३२ मेगावाट माग हुने स्थानमा १.५ मेगावाट मात्रै खपत भएको छ ।

हरिपुर र गौर नजिकको फिडरमा एक फिटभन्दा बढी पानी जमेको र पोल बगाएको छ । परवानीपुर सबस्टेसन मातहतको गण्डक र हिमाल फिडरमा समस्या आएको प्राधिकरणले जनाएको छ । सिमरा सबस्टेसनको स्थानीय फिडरमा एक मिटरभन्दा बढी पानी जमेको छ ।

हेटाँैडा सबस्टेसन मातहतको स्थानीय फिडरमा दुई मेगावाट मात्रै चालु रहेको छ । सो फिडरमा १२ मेगावाट विद्युत् खपत हुने गरेको थियो । भरतपुर सबस्टेसन र पर्सा सबस्टेसनमा पूर्ण रुपमा जलमग्न रहेको, भरतपुरअन्तर्गतको गँैडाकोट फिडरबाट ४० मेगावाट विद्युत् खपत हुने गरेकामा दुई मेगावाट मात्रै सञ्चालनमा रहेको छ ।

प्राधिकरणका अनुसार शिवपुर सबस्टेसनअन्तर्गत ११ केभी र बहादुरगञ्ज फिडर बन्द रहेको छ । उता कोहलपुर सबस्टेसनअन्तर्गत राझा फिडर बन्द हुन पुगेको छ । सो फिडरमा कुल ४० मेगावाट माग रहेकोमा दुई मेगावाट मात्रै प्रयोग भइरहेको छ ।

अधिकांश आयोजना ट्रिपिङमा

कार्यकारी निर्देशक घिसिङले मुलुकका अधिकांश आयोजना ट्रिपिङमा रहेका छन् । कालीगण्डकी ‘ए’ १४४ मेगावाट क्षमतामा नै चलाउन सकिएको छैन । सो आयोजनाबाट हाल १०० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । आयोजनाको कुल क्षमतामध्ये न्यूनतम ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भइरहेको छ ।

मध्य–मस्र्याङदी जलविद्युत् आयोजनाले २५ मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ । सो आयोजनाबाट ७० मेगावाट विद्युत् उत्पादन हुन्छ । मस्र्याङदी जलविद्युत् आयोजनाबाट ३२ मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ ।

बालाजु त्रिशूली ६६ केभी सर्किट ट्रिपिङ भएकाले चिलिमे र त्रिशूली सात÷सात मेगावाट र देवीघाट पाँच मेगावाट मात्र उत्पादन गरिएको छ । गण्डक विद्युत् बाढीका कारणले बन्द अवस्थामा रहेको छ ।

भारतबाट आउने विद्युत् बन्दप्रायः

भारतबाट आयात हुने विद्युत् लगभग पूर्ण अवस्थामा बन्द हुन पुगेको छ । ढल्केबर– मुजफरपुरबाट हाल सात मेगावाटदेखि ३३ मेगावाट मात्रै विद्युत् आयात भइरहेको छ । सो प्रसारण लाइनबाट १४५ मेगावाट विद्युत् आयात हुने गरेको छ ।

यस्तै, विहार र टनकपुरबाट हुने आयात हुने विद्युत्समेत बन्द भएको छ । ढल्केबरबाट आयात हुने विद्युत् लिए पनि नलिए पनि प्राधिकरणले महसुल भने तिर्नुपर्नेछ । एक दिन विद्युत् आयात रोकिँदा रु एक करोड २० लाखभन्दा बढी प्राधिकरणलाई घाटा हुन्छ । काठमाडौँका केही फिडरमा समेत समस्या पैदा भएको छ ।

Loading...