प्रचण्डमाथि केपीले हाने कडा झटारो । जमिन्दार बनेर माअोवादी खाएको अारोप

काठमाडौं, २६ साउन । विपक्षीमाथि चोटिलो प्रहार गर्न निकै माहिर मानिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एउटा अर्को प्रहार बाहिर आएको छ । यसपटक पुनः ओलीले नेकपा (माओवादी केन्द्र) र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि प्रहार गरेका छन् ।

नेता ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जमिन्दारको संज्ञा दिएका छन् । राजधानी काठमाडौंको धुम्वाराहीमा रहेको पार्टी मुख्यालयमा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्रमा २०५५ सालदेखि अहिलेसम्म एकै जनाको जमिन्दारी चल्दै आएको टिप्पणी गरे । आफ्नो पार्टी नेकपा (एमाले)मा निश्चित समयपछि नयाँ नेतृत्व आउने प्रणाली रहेको भन्दै उनले माओवादी केन्द्रमा भने आजीवन एउटा मात्र नेता रहने र तिनले अरु तहका नेता र आफ्ना पिए समेत त्यसैगरी मनोमानीका आधारमा बनाउने गरेको टिप्पणी गरे ।

अध्यक्ष ओलीले भने, ‘माओवादी केन्द्रमा आजीवन एउटै नेता हुन्छन्, पीए पनि आफ्नैलाई बनाउँछन्, उम्मेदवार पनि आफ्नैलाई बनाउँछन् । एमालेमा त यस्तो जमिन्दारी चल्दैन ।’

सोही क्रममा अध्यक्ष ओलीले माओवादी पार्टीमा अब केही पनि बाँकी नरहेको समेत टिप्पणी गरे । माओवादी भन्ने शब्द पनि बाँकी नरहेको बताउँदै उनले अब त्यहाँ त केन्द्रमात्रै बाँकी रहेको दावी गरे । उनले भने, ‘अब माओवादीमा जे छ, केन्द्रमात्रै छ, अरु केही पनि बाँकी छैन, माओवादी केन्द्र १’

ओलीले कुनै पनि रुखमा पात अडिनका लागि त्यसमा जीवन आवश्यक पर्ने बताए । तर, रुखमा जीवन छैन भने पात अड्किन नै नसक्ने बताए । त्यस्तो अवस्थामा त्यो रुखलाई अलिकति मात्र हल्लायो भने पनि सबै पात झर्ने उनले बताए । त्यस्तै अवस्थामा अहिले माओवादी केन्द्र रहेको भन्दै उनले भने, ‘तपाईहरुले अलिकति हल्लाइदिनुभयो भने अब माओवादी केन्द्र पूरै सकिन्छ ।’ साथै उनले माओवादीभित्र जीवन नरहेकाले अब पातहरु झर्दै जाने ठोकुवा गरे ।

ओलीले माओवादी केन्द्रका सिराहा जिल्लाका केही कार्यकर्ताहरुलाई आफ्नो पार्टीमा प्रवेश समेत गराए । एमाले प्रवेश गर्नेहरुमा माके सिराहाका कार्यकर्ताहरु गणेश अधिकारीसहित थिए ।

 

Loading...