बाबुरामका दाहिने हात रहेका देवेन्द्र पौडेलसहित ठूलो समूहले छोड्यो नयाँ शक्ति

काठमाडौं, २६ साउन । जनयुद्धकालदेखि आजसम्म डा. बाबुराम भट्टराईलाई साथ दिँदै आएका नेता देवेन्द्र पौडेलले अन्ततः नयाँ शक्ति छोड्ने भएका छन् । बाबुरामको दाहिने हातका रुपमा रहेका पौडेल आफैले आज राजधानी काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका हुन् ।

पौडेलले आफूसँग नयाँ शक्तिमा रहेका पुराना माओवादीहरुको ठूलो समूहलाई लिने भएका छन् । काठमाडौंको बागबजारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले आब आफूहरु पूर्व माओवादीहरुबीच धु्रविकरण गर्ने अभियानमा लागेको बताए । डा. बाबुराम भट्टराईकै कारण नयाँ शक्ति संकटमा परेको पनि उनले प्रष्ट पारे ।
पौडेलसँगै नयाँ शक्ति छोड्न लागेका सबै नेताहरुले आफूहरु अब नयाँ शक्तिमै बसेर कुनै पहल लिन नसकिने अवस्थामा पुगेको निष्कर्ष सुनाए । साथै उनीहरुले बाबुरामलाई पनि अब नयाँ शक्ति बनाएर जाने भ्रममा नपर्न पनि आग्रह गर्दै आफूहरुको धु्रविकरण अभियानमा सहभागी हुन आह्वान समेत गरे ।

यसरी पौडेलसँगै नयाँ शक्तिबाट विद्रोह गर्ने नेताहरुमा कुमार पौडेल, महेन्द्र पासवान, पासाङ शेर्पा, वामदेव क्षेत्री, मुक्ति प्रधान, सुशीला श्रीपाली, अमरध्वज लामा, तिलक थापा, वाहिद अन्सारी, हरि चौलागाई आदि रहेका छन् ।

सो क्रममा उनीहरुले आफूहरु निशर्त प्रचण्डको पार्टीमा जान लागेको भनेर बाहिर आएको प्रचारवाजी भने सही नभएको बताए । बरु बाबुरामलाई समेत लिएर परिवर्तनकारी शक्ति र माओवादी शक्तिका बीचमा नयाँ धु्रविकरण गर्ने प्रष्ट पारे ।

Loading...