टोकियोमा नेपाल फेष्टिवलको तयारी तिव्र

जापानी माझ नेपाली कला संस्कृति झल्काउने उद्धेश्यले टोकियोमा आयोजना गर्न लागिएको दशौ नेपाल फेष्टिवलको तयारी तिव्र पारिएको छ ।

टोकियोको उएनो पार्कमा आगामी अगष्ट २६ र २७ तारिख दुई दिन नेपाल फेष्टिवलको आयोजना गरिएको छ ।

गैरआवासीय नेपाली संघ जापानको आयोजना तथा टोकियो स्थित नेपाली दूतावासको विशेष सहयोगमा हुन लागेको नेपाल फेष्टिवल यस वर्षपनि भव्य रुपमा मनाउने तयारी लगभग अन्तिम चरणमा पुगेको जनाईएको छ।

फेष्टिवल मुल आयोजक समितिका संयोजक टासी वाङदी लामाका अनुसार यस पटक कुल ४६ वटा विभिन्न स्टलहरु रहने छन। जसमध्ये नेपालको कलासंस्कृति झल्काउने पर्यटकीय स्थलको जानकारी मुलक स्टल देखि नेपाली पहिचानका पहिरन, टिपिकल नेपाली खाना र विभिन्न क्षेत्रका जानकारी दिने आकर्षक स्टलहरु रहने छन।

साथै सोही स्थलमा नेपाली खानाका विभिन्न परिकारका रेष्टुरेन्ट सहित नेपालीहरुद्धारा संचालनका रहेका विभिन्न सेवा मुलक संस्थाका स्टलहरुको विशेष आकर्षण रहने छ।

फेष्टिवल मुल आयोजक समितिका अर्का संयोजक देवीलाल भण्डारीका अनुसार फेष्टिवलमा सहभागि हुने स्टलहरुको स्थान वितरण तथा अन्य तयारी सकिएको जानकारी दिए। भण्डारीले विभिन्न समिति तथा उपसमितिको तर्फबाट जापानभरिका मुख्य शहरहरुमा प्रचारप्रसार समेत तिव्र पारिएको बताए ।

आर्थिक सहयोग अभियान सुरु

यसैवीच गत वर्ष पनि नाफानोक्सान बरावरी जस्तै भएको नेपाल फेष्टिवलको यस वर्ष सुरु हुनुभन्दा अगावै घाटा हुने निश्चित जस्तै भएपछि जापानवासी नेपालीहरुको सहयोग लिने तयारी गरिएको छ।

कुल एक करोड ७० लाख येन अनुमानित बजेट रहेको फेष्टिवलमा लगभग एक करोड येनको स्टल बुकिङ भएको छ भने मुख्य प्रायोजक तथा अन्य प्रायोजकको टुङगो नलागेका कारण फेष्टिवल घाटामा जानसक्ने भन्दै आर्थिक सहयोगका लागि भाग्यशाली उपहार चिठठा कार्यक्रम संचालन गरिने भएको छ।

आर्थिक सहयोग संकलन समिति तथा भाग्यशाली उपहार चिठठा कार्यक्रमका संयोजक सरोजकुमार खत्रीका अनुसार फेष्टिवलको सहयोगकार्थ करिव तीन हजार भाग्यशाली चिठठा मार्फत सहयोग संकलन सुरु गरिएको छ।

एक हजार येनका टिकट खरिद गर्ने मध्ये विभिन्न भाग्यशालीहरुलाई विभिन्न सहयोगकर्ताको पहलमा नेपाल जाने आउने टिकट सहित जापानका विभिन्न क्षेत्रका रेष्टुरेन्टमा छुट कुपन, डिनर कुपन तथा आकर्षक उपहारहरु प्रदान गरिने जनाईएको छ। पmेष्टिवल सफल बनाउन आवश्यक सहयोग संकलन अभियानलाई तिव्रता दिईएको खत्रीले जानकारी दिए।

कुल तीन हजार टिकट विक्री गरेर फेष्टिवलको अन्तिम दिन २७ तारिख आईतबारका दिन विभिन्न भाग्यशालीहरुलाई उपहार प्रदान गरिने बताईएको छ।
यसैवीच भाग्यशाली उपहार तथा साहयोगका लागि गैरआवासीय नेपाली संघ एनआरएनएको ओकुवो टोकियो स्थित कार्यालयमा अथवा फेष्टिवल मुल आयोजकसंग सम्पर्क राख्न अपील गरिएको छ।

फेष्टिवलमा यस पटक नेपाली कलाकारहरुको साथमा मनोरंजनात्मक कार्यक्रमसंगै नेपाली नृत्य, कला र सस्कृति झल्काउने पहिरनमा सजिएर विभिन्न प्रस्तुति राखिएको छ।

यता गैरआवासीय नेपाली संघ एनआरएनए जापानका अध्यक्ष सुदन थापाले भने प्रचारप्रसारमा कुनै कसुर बाँकी नराखिएको तथा जापानवासी नेपालीहरुमा देखिएको उत्साहले उर्जा मिलेको बताए ।

Loading...