रुस र अमेरिकाबीच के ‘ट्रेड वार’ सुरु भएकै हाे ?

अमेरिकन कंग्रेसबाट पारित भइ बाध्यवस राष्ट्रपति डाेनाल्ड ट्रम्पले हस्ताक्षर गरिएकाे भनिएकाे नाकाबन्दीकाे प्रस्तावप्रति रुसले कडा शब्दमा विरोध जनाएकाे छ । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले भनेका छन् कि रुसमाथि अमेरिकी प्रतिबन्ध पूर्ण रूपले ‘ट्रेड वार (व्यापार युद्ध) को घोषणासरह हो । मेदभेदेवले अगाडि भनेका छन्— डोनाल्ड ट्रम्पका तर्फबाट नयाँ प्रतिबन्धमाथि हस्ताक्षर गरिनुले देखाउँछ कि उनी कति लाचार छन् । रुसी प्रधानमन्त्रीले भने– अमेरिकी कंग्रेसले राष्ट्रपति ट्रम्पलाई अममानित गरेको छ ।

अमेरिकाको यस नयाँ प्रतिबन्धको उद्देश्य २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा कथित हस्तक्षेप तथा युक्रेनमा कारबाहीविरुद्ध रुसलाई दण्डित गर्नु रहेको बताइएको छ । ट्रम्पले कंग्रेसलाई यस प्रतिबन्धका लागि जिम्मेवार ठहर्याएका छन् । बुधबार नयाँ प्रतिबन्धमाथि हस्ताक्षर गरेपछि ट्रम्पले भनेका छन् कि यसको परिणाम अमेरिकाको हितमा हुनेछैन ।

अमेरिकाको यस नयाँ प्रतिबन्धपछि अमेरिकी लगानीकर्ताका लागि अब रुसी इनर्जी प्रोजेक्टमा लगानी गर्नु सहज हुनेछैन । यसका साथै अमेरिकी कम्पनीका लागि पनि रुसमा व्यापार गर्न निकै मुस्किल भएको छ । रुसका अतिरिक्त अमेरिकाले इरान तथा उत्तर कोरियाविरुद्ध पनि प्रतिबन्ध लगाएको छ ।

इरानले नयाँ अमेरिकी प्रतिबन्धमाथि प्रतिक्रिया दिँदै भनेको छ कि यो ओबामाको कार्यकालमा भएको परमाणु सम्झौताको उल्लंघन हो । इरानको अर्धसरकारी समाचार एजेन्सी इस्नाका अनुसार इरानले यस प्रतिबन्धको ‘जस्तालाई तस्तै’ जवाफ दिने बताएको छ । उता उत्तर कोरियाले चाहिँ नयाँ अमेरिकी प्रतिबन्धमाथि कुनै सार्वजनिक टिप्पणी गरेको छैन ।

रुसी प्रधानमन्त्री मेदभेदेवले बुधबार आफ्नो फेसबुक पेजमा लेखेका छन् कि अमेरिकाका तर्फबाट लगाइएको नयाँ प्रतिबन्धले त्यहाँ नयाँ सरकार आएपछि द्विपक्षीय सम्बन्ध सुधारको जुन अपेक्षा गरिएको थियो, अब त्यसको अन्त्य भएको छ । उनले आफ्नो पेजमा अगाडि लेखेका छन्— प्रतिबन्धात्मक शासन पद्धति स्थापित गरिएको छ । जबसम्म कुनै चमत्कार हुनेछैन, तबसम्म यसको असर आगामी कैयाँै दशकसम्म कायम रहनेछ ।

मेदभेदेवले यो पनि चेतावनी लिएका छन् कि नयाँ अमेरिकी कदम राष्ट्रपति ट्रम्पलाई हटाउन सहयोगी सिद्ध हुनेछ । रुसले २०१६ मा अमेरिकी राष्ट्रपति निर्वाचनमा कुनै पनि प्रकारको हस्तक्षेप अस्वीकार गर्दै आएको छ । पछिल्लो साता रुसले मस्कोस्थित अमेरिकी दूतावासका ४ सय ५५ कर्मचारीलाई फिर्ता जान आदेश दिएको थियो ।

यस विषयमा जर्मनीसमेत कैयौँ युरोपेली देशले आर्थिक दुष्परिणामको आशंका गरेका छन् । यद्यपि युरोपेली युनियन कमिसनका अध्यक्ष जिन क्लाड युंकरले इयूको चिन्तापछि प्रतिबन्ध केही उदार बनाउनुलाई लिएर सन्तोष व्यक्त गरेका छन् । उनले भने— अमेरिकी कंग्रेसले यस विषयमा प्रतिबद्धता जनाएको छ, उसले सहयोगी देशसित छलफल गरेपछि मात्र सो प्रतिबन्ध लागू गर्नेछ । मलाई लाग्छ हामी अझै पनि अमेरिकाका सहयोगी हौँ ।

राष्ट्रपति ट्रम्पले यस विषयलाई लगातार खारेज गर्दै आएका छन् कि उनको निर्वाचन अभियानका स्टाफको रुससित कुनै साँठगाँठ थियो । राष्ट्रपति ट्रम्पले कंग्रेसमाथि बिल पास गर्ने कार्यमा मनोमानी गरेको आरोप लगाएका छन् । उनले कंग्रेसले संवैधानिक अधिकारको अतिक्रमण गरिरहेको पनि आरोप लगाएका छन् । उनले अगाडि भनेका छन् कि कंग्रेसको तुलनामा उनले बाहिरी देशसित बढी राम्रा सम्झौता गर्न सक्छन् ।

वासिङटनका पत्रकारको आँकलन
ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्धवाला बिलमाथि भलै हस्ताक्षर गरेका छन्, तर उनी खुसी छैनन् । यसबाट कंग्रेस र राष्ट्रपति ट्रम्पबीच प्रस्ट टकराव देखिएको छ । हेल्थकेयर बिलमा पनि ट्रम्पलाई कंग्रेसबाट कडा विरोधको सामना गर्नुपरेको थियो । अहिले पनि कंग्रेस र ट्रम्पबीचको तनाव प्रस्ट देखिन्छ ।

Loading...