भरतपुर कारागारमा ४२ वर्षीय कामतको मृत्यु

चितवन, २० साउन । चितवनको भरतपुरस्थित जिल्ला कारागारमा एकजना कैदीको बिहीबार मृत्यु भएकोछ । विराटनगर घर भएका ४२ वर्षीया कैदी अम्बिका कामतको स्तन क्यान्सरका कारण मृत्यु भएको जिल्ला कारागार चितवनका जेलर कमल काफ्लेले जानकारी दिए ।

उनका अनुसार रोगबाट गम्भीर भएपछि क्यान्सर अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले नसकिने भनेर पठाएपछि फर्काइएकी कामतको भरतपुर अस्पतालमा ल्याएपछि मृत्यु भएको हो । कर्तव्य ज्यान मुद्दामा उनलाई २० वर्षको कैद सजाय तोकिएको थियो । एक वर्षअघि पाल्पाबाट चितवनमा सारिएकी उनले आठ वर्ष कैद झुक्तान गरिसकेको कारागारले जनाएको छ ।

यसैगरी, यही साउन १३ गते पनि मकवानपुर हाँडीखोला घर भएका ४७ वर्षीय कैदी सीताराम विकको पनि कलेजोको क्यान्सरका कारण मृत्यु भएको काफ्लेले जानकारी दिए । गत चैत दोस्रो साता सिन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेलको क्यान्सर रोगका कारण मृत्यु भएको थियो ।

भरतपुर कारागारमा अझै तीनजना क्यान्सर रोग लागेका कैदी छन् । कारागारमा क्षमताभन्दा तेब्बर बढी अर्थात ५६९ कैदी र थुनुवा रहेको कारागारले जानकारी दिएको छ । यसकारण यहाँका कैदी र थुनुवामा सकस हुँदै आएको छ ।

Loading...