विदेशमा बसेर फेसबुकमा नेपाल र नेपालीलाई अश्लिल गाली गर्नेहरु यसरी तानिदैछन धमाधम

काठमाडौं, १८ साउन । उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्युरोको हिरासतमा छन्। उनीविरुद्ध नेपालमा मात्रै होइन, अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ।

जर्मनीमा रहेका नेपाली नागरिक आत्मराम थपलियालाई नेपाल ल्याउन व्युरोले प्रक्रिया सुरु गरेको छ। उनलाई नेपाल डिपोर्ट गराउन व्युरोले जर्मनीमा रहेको इन्टरपोल शाखासँग पत्राचार गरिसकेको छ।

सामाजिक संजालमार्फत आवेश र आक्रोस पोख्ने क्रममा शब्दको ख्याल नगर्दा नेपालमा बर्सेनि ५० भन्दा बढी नेपाली पक्राउ परिरहेका छन् । यो प्रवृत्तिबाट विभिन्न उद्देश्यले बिदेसिएका नेपालीसमेत जोगिन सकेका छैनन्। विदेशमा छु कसले के गर्छ र भन्दै सामाजिक संजालमा तथानाम लेख्दा नेपाल प्रहरीको खोजीमा कैयन परेका छन्।

एकजना अस्ट्रेलियाबाट डिपोर्ट भइसके। छातीमा गोली हानेर शव टुक्रा पारेर फाल्ने सन्देशले अस्ट्रेलियामा आतंक मच्चियो । एसएमएस पाउने व्यक्तिको संख्या बढेसँगै अस्ट्रेलियाको प्रहरीमा उजुरी संख्या बढ्यो।

युरोप र अमेरिकी मुलुकमा आतंकवादी घटना बढिरहेका बेला यस्तो सन्देशले सनसनी मच्चिएपछि अस्ट्रेलियाली प्रहरीले अनुसन्धान अगाडि बढायो। अनुसन्धानमा सन्देशको उदगमस्थल नेपाल देखिएपछि इन्टरपोलमार्फत नेपाल प्रहरीमा सन्देशसहित रिपोर्ट आयो। केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धान गर्दा लहानमा रहेका कुमुदप्रसाद शाह पक्राउ परे।

शाहमाथि अनुसन्धान गर्दा ७ वर्षअघि सूचना प्रविधि दुरुपयोग गरी एक १६ वर्षीया किशोरीलाई दुःख दिएको अभियोगमा अस्ट्रेलियामा एक वर्ष जेल बसेर नेपाल फर्काइएको खुल्यो । नेपाल फर्किएका उनी ६ वर्षसम्म मौन बसे । फेरि अमेरिका जाने प्रयास गरे । आइएलटिएस पास गरेर अमेरिका जाने प्रक्रिया अघि बढाउँदा उनको आपराधिक रेकर्डका कारण रोकिएपछि आवेगमा आएर उनले निःशुल्क एसएमएस पठाउन मिल्ने साइटको प्रयोग गरेर अस्ट्रेलियाका विभिन्न नम्बरमा सन्देश पठाएर आतंक मच्याए । ‘मेरो कुरा नसुनी एकतर्फी रूपमा मलाई दोषी बनाउँदै जीवन बरबाद बनाए,’ ब्युरोको हिरासतमा भेटिएका शाहले नागरिकसँग भने, ‘त्यही कारण अमेरिका जाने प्रयास असफल भएपछि रिस थाम्न सकिनँ र सन्देश पठाएँ।’

शाहका अनुसार सन् २००८ मा विद्यार्थी भिसामा अस्ट्रेलिया गएका उनको मन १६ वर्षीया किशोरीमा बस्यो। लाइब्रेरीमा भेटिएकी उनलाई पिछा गरे तर उनले वास्ता गरिनन् । उनले किशोरीको सामाजिक सञ्जाल खाता ह्याक गरेर सयभन्दा बढी म्यासेज पठाएर हैरान बनाए। केस प्रहरीमा पुग्यो । दोषी ठहर भएका उनलाई कैद सजाय काटेपछि नेपाल फर्काइयो । ‘नेपालबाट म्यासेज गर्दा कसैले पत्ता लगाउन सक्दैन भन्ने लागेको थियो, हैन रहेछ’, उनले भने, ‘अब यस्तो कहिल्यैं गर्दिनँ ।’

सामाजिक सञ्जालमा उपराष्ट्रपति नन्दकिशोर पुनलाई अपशब्द प्रयोग गर्दै निरन्तर गाली गरेर जातीय–धार्मिक द्वेष फैलाएको अभियोगमा आत्मराम थपलियालाई जर्मनीबाट नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ। फेसबुकमार्फत उनले निरन्तर जातीय र धार्मिक द्वेष फैलाएको अभियोग दर्ता गरेर ब्युरोले उनलाई नेपाल ल्याउन प्रक्रिया थालिसकेको छ ।

विदेशमा बसेर अपराधमा मुछिएका नेपालीको खोजी यत्तिमै रोकिएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्रहत्या गर्दै सामाजिक सञ्जालमा लेख्ने २ नेपालीको खोजीमा नेपाल र मलेसियाली प्रहरी सक्रिय छ। मलेसियामा रहेका २ नेपालीले राष्ट्रपतिविरुद्ध फेसबुकमा तथानाम लेखेका थिए । नेपालका २ र मलेसियाका २ जनाविरुद्ध जाहेरी दर्ता भइसकेको छ । ब्युरोले नेपालमा फरार रहेका एकजनाको खोजी गर्दैछ भने मलेसियामा रहेका २ नेपालीलाई यहाँ ल्याउन मलेसियाली इन्टरपोल शाखासँग समन्वय गरिरहेको छ । ‘विदेशमा बसेर जे लेखे पनि हुन्छ भन्ने भ्रम हुँदा सामाजिक सञ्जाल दुरुपयोग गर्दै चरित्रहत्या घटना बढ्दो छ,’ एसपी चौधरीले भनिन्, ‘क्षणिक आवेग थाम्न नसक्दा गम्भीर अपराधमा जोडिँदै गएका छन् ।’

सामाजिक सञ्जालमा बढ्दो अपराध

ब्युरोले हालै फेसबुकमार्फत निरन्तर भइरहने चरित्रहत्याका घटनाबाट आजित भएर डिप्रेसनमा पुगेका आमा–छोरीको विषयमा अनुसन्धान सकेको छ । काठमाडौंमा बस्दै आएका उनीहरूलाई फेसबुकमा विभिन्न नामबाट संवेदनशील र अश्लील सन्देश आउने गरेको थियो ।

कानुनी उपचारका लागि प्रहरी कार्यालय धाउँदासमेत पीडकको पहिचान नहुँदा दुवै डिप्रेसनमा परेका थिए। घटनाबारे थाहा पाएपछि अनुसन्धानमा जुटेको ब्युरो टोलीले दिनेश न्यौपाने र रीना थापामगरलाई पक्राउ गर्‍यो। दुवै ब्युरोको हिरासतमा छन् । न्यौपाने पीडितका आफन्त हुन् । अनुसन्धानबाट उनले पारिवारिक बदला लिन चरित्रहत्या गरेर आत्मसन्तुष्टिका लागि अश्लील सन्देश पठाएको खुल्यो ।

प्रहरीमा दर्ता साइबर अपराधसम्बन्धी उजुरी संख्या आधारमा सामाजिक सञ्जालमार्फत हुने अपराध बर्सेनि बढ्दो देखिन्छ । यसमा फेसबुकमार्फत हुने चरित्रहत्यासम्बन्धी घटना धेरै छन्। २०७३र०७४ मा ब्युरोमा दर्ता ३४ उजुरीमध्ये २३ वटा सामाजिक सञ्जालसँग सम्बन्धित छन् । महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांक योभन्दा धेरै छ । ०७२÷०७३ मा महाशाखामा साइबर अपरासम्बन्धी ८ सय ७३ उजुरी आएकोमा सामाजिक सञ्जालसम्बन्धी उजुरी संख्या ८ सय ६७ छन् । ०७१÷७२ मा दर्ता २ सय ३१ उजुरीमध्ये सामाजिक सञ्जालसँग सम्बन्धित २ सय २१ थिए । ०७०÷०७१ मा दर्ता भएका १ सय १ उजुरीमध्ये सामाजिक सञ्जालसम्बन्धी ९१ थिए । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार अधिकांश उजुरी अश्लील सामग्री राखेर चरित्र हत्या गरेको विषयमा छन् ।

अस्पष्ट कानुनले सकस

नेपालमा साइबर अपराधलाई सम्बोधन गर्ने छुट्टै कानुन छैन । इन्टरनेट प्रयोग गरेर हुने कारोबारलाई सम्बोधन गर्न बनेको विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ मा टेकेर अभियुक्त र कसुरदारमाथि अनुसन्धान र कारबाही हुने गरेको छ । सो दफा प्रस्ट नहुँदा गम्भीर प्रकृतिका अपराधमा संलग्न सहजै मुक्त हुने र सामान्य प्रकृतिका अपराध अभियोगमा पक्राउ परेका चाहिँ गम्भीर दण्डको भागीदार भइरहेका छन् ।

विद्युतीय कारोबार ऐनमा रहेको व्यवस्था अपूर्ण रहेको भन्दै विज्ञान तथा प्रविधि मन्त्रालयले सबै क्षेत्र समेट्ने गरी सूचना प्रविधि ऐन विधेयक तयारी गरेको छ । जानकार अधिकारीका अनुसार प्रस्तावित विधयेकमा सूचना र सञ्चार प्रविधिको गैरकानुनी प्रयोग, बालयौन दुराचार, साइबर आतंक, चरित्रहत्यालगायत विषय समेटेर कसुरअनुसार सजायप्रस्ताव गरिएको छ । ‘छाता ऐनका रूपमा प्रस्ताव अघि बढाए पनि पूर्ण भने भइसकेको छैन,’ स्रोतले भन्यो, ‘प्रस्तावअनुसार पारित भयो भने अहिले छुटेका धेरै क्षेत्र समेटिनेछ ।’

Loading...