अख्तियारको नियन्त्रणमा ज्वाइ सरह बसेका शर्मालाई प्रहरी हिरासतमा लिन सर्वोच्चको आदेश

काठमाडौं, १७ साउन । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मालाई प्रहरी हिरासतमा राख्न आदेश गरेको छ । कर फर्छ्यौट आयोगमार्फत कर मिनाहा दिइएको अभियोगमा अख्तियार अनुसन्धान आयोगद्वारा पक्राउ परेका शर्मा अहिलेसम्म अख्तियारको नियन्त्रणमा रहेका छन् ।

सर्वोच्चको यो आदेशसँग अब शर्मालाई प्रहरीको हिरासतमा लगिने भएको छ । अख्तियारको नियन्त्रणमा उनी उच्च सुविधासहित बसेका थिए । अख्तियारले उनलाई राजश्व हिनामिनाको आरोपमा गत जेठ १९ गते पक्राउ गरेको थियो ।

सर्वोच्चको पूर्ण इजलाशले यस्तो आदेश दिएको हो । मंगलबार न्यायाधीशहरू केदारप्रसाद चालिसे, दिपकराज जोशी, शारदाप्रसाद घिमिरे, दिपक कुमार कार्की, र अनिलकुमार सिन्हा रहेको पूर्ण इजलाशले यो आदेशसँगै उनी अब प्रहरी हिरासतमा सर्ने भएका छन् ।

शर्माकी श्रीमतीले सर्वोच्चमै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन । सोही रिटमाथि फैसला गर्दै सर्वोच्चले उनलाई अब प्रहरीको न्यायिक हिरासतमा राख्न आदेश दिएपछि उनीमाथिको कारवाही झन कडा हुँदै गएको महशुस गरिएको छ ।

Loading...