भरतपुर १९ मा साउन २० गते फेरि मतदान हुने । कसैले प्रचार गर्न नपाउने

काठमाडौं, १७ साउन । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा यही साउन २० गते पुनः मतदान गर्न दलहरु सहमत भएका छन् । २० गते निर्वाचन हुने भएपछि निर्वाचन आयोगले आजैबाट शुन्य समय सुरु भएको जनाएको छ । शुन्य समय सुरुभएका कारण कुनै पनि उम्मेदवारहरुले प्रचारप्रसार गर्न नपाउने आयोगले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकमा साउन २० गते चुनाव गर्नका लागि दलहरुले सहमति जनाएका हुन् ।

सर्वोच्च अदालतले भरतपुर महानगर १९मा पुनः मतदान गर्नुपर्ने निर्वाचन आयोगले दिएको निर्णयलाई सदर गर्दै आइतबार फैसला गरेको थियो । हिजो सोमबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतलाई वडा नम्बर १९ का सम्पूर्ण मतदान केन्द्रको मतदान रद्द गरी पुनः मतदानका लागि यथाशीघ्र मिति तोक्न निर्देशन दिएको थियो ।

वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय निर्वाचनअन्तर्गत मतगणना चल्दै गर्दा मतपत्र च्यातिएपछि भरतपुर महानगरको निर्वाचन अन्योलमा परेको थियो ।

Loading...